अजय सुमार्गीदेखि संचय कोषसम्मले बुझाएनन् कर, यी हुन कर नतिर्ने ५२ करदाता (नामसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले पटक पटक ताकेता गर्दा पनि कर नतिर्ने व्यक्ति तथा व्यवसायीको नामावली सार्वजनिक गरेको छ ।

 

महानगरले आइतबार एक सूचना जारी गर्दै  व्यक्ति, पसल, ठूला व्यवसायी लगायत समयमै कर नतिर्ने ५२ करदाताको नामावली सार्वजनिक गरेको हो ।

 

कर नतिर्नेमा नाफा कमाउने उद्देश्यले खोलिएका व्यापारिक कम्प्लेक्स, शैक्षिक संस्था, अस्पताल लगायत ठूला कम्पनी रहेका छन् । कर नतिर्नेमा व्यवसायी अजयराज सुमार्गी, पेय पदार्थ पेप्सी उत्पादन गर्ने वरुण वेभरेज, सिटी सेन्टर, मैतिदेवी प्लाजा, रञ्जना ट्रेड जस्ता नाम चलेका कम्पनीहरु रहेका छन् ।

 

यस्तै, कर नतिर्नेमा नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय, चेम्बर भवन, राष्ट्रिय नाचघर, नेपाल स्काउटले पनि पैसा तिरेका छैनन्। वैशाली होटल, होटल मर्स्याङदी, होटल प्लाटिनियम, गोपीकृष्ण मूभिज, होटल ग्याङजोङ, कान्तिपुर होटल, जय नेपाल, रवीन्द्रबहादुर मल्ल, दिव्य शम्शेर जबरा, रिद्धिसिद्धि डेभलपर्स, अलइन मार्टका शिशु अर्याल लगायत रहेका छन् ।

 

महानगरले ३० दिनभित्र आफ्नो सम्पत्तिको विवरणसहित बुझाउन बाँकी कर तथा जरिवानासमेत भुक्तानी गर्न भनेको छ।

 

‘विगत समयदेखि सम्बन्धित वडा कार्यालयबाट पटक पटक पत्राचार गर्दा समेत कर तिर्न अटेर गरी बुझाउन नआई लामो समयदेखि कर बक्यौता कायम रहेको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सम्पत्तिको विवरण सहित बुझाउन बाँकी कर (जरिवाना समेत) दाखिला गर्नुहोला’, सूचनामा भनिएको छ ।

 

सो अवधिभित्र तिर्नुपर्ने कर नतिरे कानुन अनुसार कारबाही र जरिवाना गरिने महानगरपालिकाले जनाएको छ । ‘अन्यथा महानगरपालिकाको राजस्व ऐनको दफा १२ बमोजिम कर दाताहरूको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत यसै सूचनाद्वारा सम्बन्धित सबै करदाताहरूमा जानकारी गराइन्छ ।’

 

 

६ कम्पनीको १ अर्ब ५६ करोडको हकप्रद सेयर आउँदै, कुनको कति ? Read Previous

६ कम्पनीको १ अर्ब ५६ करोडको हकप्रद सेयर आउँदै, कुनको कति ?

चीनको वैदेशिक मुद्रा सञ्चिति ३२ खर्ब ३५ अर्ब डलर पुग्यो Read Next

चीनको वैदेशिक मुद्रा सञ्चिति ३२ खर्ब ३५ अर्ब डलर पुग्यो