काठमाडौं । पछिल्ललो समय सेयर बजारमा आमसर्वसाधरणको सहभागिता बढ्दै गएको छ । नेप्सले १ वर्षदेखि निरन्तर उकालो यात्रा जारी राख्दा लगानीकर्ताको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको हो ।
सेयर बजारमा नयाँ नयाँ कम्पनी सूचीकृत हुने क्रम जारी छ । चालू आर्थिक वर्षमा मात्रै आधादर्जन बढी कम्पनीले आइपीओ जारी गर्न अनुमति पाइसकेका छन् भने डेढ दर्जन बढी पाइपलाइनमा छन् ।
यस्तै, यसअघि नै नेप्सेमा सूचीकृत कम्पनीहरुले पनि आफ्नो पूँजी वृद्धि गर्न तथा लगानी योग्य रकम उठाउन हकप्रद सेयर गरिरहेका छन् । नेपाल राष्ट बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर–एक्विजिसनमा प्रोत्साहन गर्दै हकप्रद निष्काशनमा कडाइ गरे पनि यो क्रम भने रोकिएको छैन ।
यसैक्रममा हाल आधा दर्जन कम्पनीले हकप्रद जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार अहिले तीन वटा विकास बैंक, एउटा फाइनान्स , एउटा इन्स्योरेन्स र एउटा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति मागेका हुन् ।
शिखर इन्स्योरेन्स, नारायणी विकास बैंक, समृद्धी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, एक्सल डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर कम्पनीले हकप्रद जारी गर्न अनुमति माग गरेका हुन् ।
केही कम्पनीको कागजात अध्ययन गरी स्वीकृत दिने अन्तिम चरणमा पुगेको छ भने केहीको आवश्यक कागजात पुर्याउन निर्देशन दिइएको बोर्डले जनाएको छ । यस्तै, केही कम्पनीको कागजात तथा हकप्रद जारी गर्न पाउने नपाउने बारे अध्ययन भइरहेको बोर्डको भनाइ छ ।
बोर्डका अनुसार एक्सल डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरलाई अनुमति दिने काम अन्तिम चरणमा पुगेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकलाई थप कागजात पेश गर्न भनिएको छ भने अन्य कम्पनीको कागजात अध्ययनको क्रममा छ ।
बोर्डले अनुमति दिएपछि कम्पनीहरुले हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउने छन् । सामान्यतया बोर्डबाट अनुमति पाएको २ महिनाभित्र कम्पनीले हकप्रद जारी गर्नुपर्ने व्यवस्था छ ।
कुन कम्पनीको कति हकप्रद आउँदै ?
बोर्डका अनुसार ६ कम्पनीले कुल १ अर्ब ५६ करोड ४४ लाख ३६७ रुपैयाँ बराबरको १ करोड ५६ लाख ४४ हजार ३ कित्ता हकप्रद सेयर निष्काशनको लागि अनुमति माग गरेका हुन् ।

शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको हकप्रद जारी गर्न अनुमति मागेको छ । शिखरले १०ः३ को अनुपातमा ५२ करोड ७५ लाख ५७ हजार २०७ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद निष्काशनको अनुमति मागेको छ ।
कम्पनीले चुक्ता पूँजी वृद्धि गर्न हकप्रद जारी गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशन गर्नका लागि एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।
यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकले १ः१.५० अनुपातमा ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्काशन अनुमति मागेको छ । उक्त आवेदन बोर्डको प्रारम्भिक अध्ययनको क्रममा रहेको छ ।
यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको ३० प्रतिशत (१०ः३ अनुपात) हकप्रद जारी गर्न अनुमति माग गरेको हो । बैंकले प्रतिकित्ता १०० रुपयाँ दरले २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको छ ।
यस्तै, समृद्धि फाइनान्स कम्पनीले २ः१ अनुपात अर्थात् चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकले १ः१ को अनुपातमा अर्थात् शत प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै ४ गते आवेदन बोर्डमा आवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि बैंकले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
छ्याङदी हाइड्रोपावरले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।