काठमाडौं । गत महिना आइपीओ जारी गरेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ ।
लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलानामा २२.२७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चैथो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी र प्रोभिजन गरेको रकम राइटब्याक हुँदा खुद मुनाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५४ प्रतिशतले बढेर २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तले ६७ करोड १७ लाख रुपैयाँ राइटब्याक गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब ९ करोड निक्षेप संकलन र ९ अर्ब ९२ करोड सापटी लिइ कुल २० अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ । हाल ६० करोड ८४ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३० करोड संचित रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११३.३४ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा भने ०.६० प्रतिशतबाट बढेर ०.६१ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३१५.२२ रुपैयाँ रहेको छ ।