काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफा झन्डै दोब्बरले बढेको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार १ अर्ब २१ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलानामा ८७.२४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चैथो त्रैमाससम्म लघुवित्तले ६४ करोड ९२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी र प्रोभिजन गरेको रकम राइटब्याक हुँदा खुद मुनाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.७५ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तले ५७ करोड १३ लाख रुपैयाँ राइटब्याक गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले २२ अर्ब ४३ करोड निक्षेप संकलन र ६ अर्ब २१ करोड सापटी लिइ कुल २५ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ८३ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३ अर्ब १२ करोड संचित रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४३.२८ रुपैयाँबाट बढेर ६६.४३ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने ०.४५ प्रतिशतबाट घटेर ०.६३ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २७०.५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.१६ प्रतिशत रहेको छ ।