काठमाडौं । सरकारले युवा अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीतिगत सल्लाहकार संस्था योजना आयोगको उपाध्यक्षमा डा. पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।यस्तै, सोहीी बैठकले डा. दिलबहादुर गुरुङ र डा. रामकुमार फुयाललाई आयोगको सदस्यमा नियुक्त गरेको छ ।
नवनियुक्त आयोग उपाध्यक्ष पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एग्रिकल्चर एन्ड रिसोर्स इकोनोमिक्समा विद्यावारिधी गरेका छन् । उनी काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा भिजिटिङ एशोसिएट प्रोफेसर रहेका छन् ।
पौडेलले यसअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेको आर्थिक सल्लाहकारका रुपमा पनि काम गरेका थिए।
उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) मा आर्थिक सल्लाहकारका रुपमा काम गरेको अनुभव पनि छ । सन् २०१२ देखि २०१५ सम्म करिब २६ महिना विश्व बैंकमा पनि परामर्शदाताका रुपमा पनि रहेका थिए।