मान्मा केबुलकारको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक, बनाउन ९४ करोड लाग्ने

मान्मा । कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।

 

कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।

 

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म केबुलकार बनाउने लक्ष्य राखेको छ ।

 

नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म केबुलकार बनाउनका लागि ९४ करोड ४९ लाख ९१५ रुपैयाँ लागत लाग्ने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्पराज खड्काले जानकारी दिए ।

 

“यसको लम्बाइ २ हजार १३४ मिटर र उचाइ ८२९ मिटर हुनेछ”, उनले भने,“प्रति सेकेन्ड ८ मिटर चल्ने र एक घण्टामा २०० जनाले वारपार गर्न सक्नेछन् ।” नरहरिनाथ गाउँपालिका–१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्मसम्म केबुलकारमा पुग्नका लागि १० मिनेटको समय लाग्ने डा खड्काको भनाइ रहेको छ ।

 

प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन, आवागमन र आर्थिक विकासका गतिविधिलाई टेवा पुग्ने गरी नीति तथा कार्यक्रममा कालीकोटको कोटवाडादेखि मान्मसम्म केबुलकार, सुर्खेत–सिद्धपाइला र मुगुको रारा–मुर्माटपलगायतका स्थानमा केवलकारको निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने लक्ष्य राखेको प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए।

 

कोटवाडामा विमानस्थल बन्दै गरेको र काम अन्तिम चरणमा रहेकाले विमानस्थल नियमित गर्नका लागि पनि केबलकार आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए।

 

केबुलकार सञ्चालनमा आएमा सो क्षेत्रका नागरिकको आर्थिक अवस्थामा परिवर्तन आउने प्रदेश सरकार भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापाले बताए । “केबुलकार बनेमा पर्यटन क्षेत्र चलायमान हुन्छ । पर्यटन क्षेत्रबाट त्यहाँका नागरिकले आर्थिक लाभ लिन सक्छन्”, उनले भने,“चालू आर्थिक वर्षबाट नै केबुलकारको निर्माण प्रक्रिया अगाडि बढाइने छ ।” रासस

एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग पुनःनिर्माण हुने, माउण्टेन इन्फ्राले पायो ठेक्का Read Previous

एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग पुनःनिर्माण हुने, माउण्टेन इन्फ्राले पायो ठेक्का

अर्थशास्त्री विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त Read Next

अर्थशास्त्री विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त