काठमाडौं । देश कै एक मात्र बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण र सर्टिफिकेशन गर्ने कार्य सम्पन्न गरिएको छ ।
जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पीड परीक्षण र सर्टिफिकेशन गर्ने कार्य गरेको हो ।
भारतीय कोकर्ण कम्पनीका प्रतिनिधि तथा नेपालका महाप्रबन्धक गुरु भट्टराईद्वारा संयुक्त रुपमा निरीक्षण पश्चात जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा पूजा गरिएको थियो ।
स्पीड परीक्षणसम्बन्धी जानकारी दिँदै महाप्रबन्धक भट्टराईले भारतीय डब्ल्यूबीएम थ्रीडी नामको इञ्जिन तथा दुई मालवाहक डब्बासहित आएको ट्रेन आउने बेलामा ६० प्रतिकिलो मिटरको स्पिडमा आएको र फर्कने बेलामा १२० को स्पिडमा फर्किएको बताए ।
उनले स्पीड चेकका क्रममा भारतीय रेल्वेका ड्राइभरलाई नेपालको रेल्वे ट्रयाकसम्बन्धी ज्ञान नभएका कारण आउने समयमा ६० को स्पीडमा ल्याइएको र फर्किने बेलामा १२० को स्पीडमा फर्केको जनाए।
महाप्रबन्धक भट्टराईले आइतबार गरिएको परीक्षण सफल भएको बताए। उनले रेल ट्रयाकमा कही कतै कुनै समस्या नदेखिएको जनाउए। उनले लिकको समय समयमा मर्मत तथा पुलको पनि सबै काम भइसकेकाले समस्या नरहेको बताए । ट्रयाक परीक्षण सफल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खजुरीदेखि कुर्थासम्म रेल आइपुग्दा कुनै पनि स्थानमा क्षति नभएको जिप्रकााले जनाएको छ । परीक्षणका क्रममा ट्रयाक तथा स्टेशनमा पर्याप्त सुरक्षाकर्मी तथा कर्मचारी खटाइएको थियो ।
रेल कहिलेदेख चल्छ भन्ने अझै टुंगो छैन
सरकारले पटक पटक नेपालमा रेल चल्ने भनेर मिति तोके पनि रेल्वे सञ्चालनमा आउन सकेको छैन ।
रेलवे ट्र्याकको गति परीक्षण गर्नु करिब अन्तिम काम हो भने यसपछि रेल कुदाउन ट्र्याक तयार रहेको प्राविधिकको दाबी छ । तर जनकपुर–कुर्था खण्डमा नेपाली रेल कहिले गुड्छ भन्ने अझै टुंगो छैन ।
गति परीक्षण सकिएको, जनशक्ति तयारी अवस्थामा रहेकाले अब संचालन मिति तोक्न मात्र बाँकी रहेको र सरकारले मिति तोकेपछि संचालनमा आउने भट्टराईले बताए ।
भारत सरकारको सहयोगमा ५ अर्ब ४८ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण भइसकेको छ । सरकारले जीटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रियामार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँमा भारतसँग खरिद गरेका दुई रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेका थिए ।
गाडि र पछाडि गुड्न सक्ने सो रेल अहिले जनकपुरको इनर्वा स्टेशनमा त्रिपालले छोपेर सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ ।