फर्स्ट माइक्रोफाइनान्सको नाफामा झिनो सुधार, यस्तो छ वित्तीय अवस्था
चाणक्य पोष्ट
प्रकाशित : 8:03 am, सोमबार, साउन ४, २०७८

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 

सोमबार प्रकाशित विवरण अनुसार लघुवित्तले गत वर्ष असार मसान्तसम्म १४ करोड १५ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १.२९ प्रतिशत बढी हो। अघिल्लो आवको सोही अवधिमा लघुवित्तले १३ करोड ९७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

 

लघुवित्तको ब्याज आम्दानी, सञ्चालन मुनाफामा सामान्य वृद्धि हुँदा नाफामा पनि सामान्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.१० प्रतिशतले बढेर २६ करोड ४७ लाख रुपैयाँमा पुगेको छ छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २२ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

 

यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ३.२९ प्रतिशतले बढेर २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तले अघिल्लो वर्षको सोही अवधिमा २१ करोड ७९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब ६० करोड ६६ लाख रुपैयाँ सापटी लिई ८ अर्ब २० करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। ८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २८ करोड १ लाख रुपैयाँ सञ्चित छ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १६.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.९५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५०.९९ गुणा र खराब कर्जा शून्य प्रतिशत रहेको छ ।