तेलको खपत बढ्दो उत्पादन न्यून, अर्जेन्टीनादेखि भारतसम्मबाट आयात

काठमाडौं । कृषि प्रधान देशको रुपमा चिनिने नेपालमा सरकारले २.९३ प्रतिशतले तेलहन बालीको उत्पादन बढ्ने अनुमान गरिरँहदा तेलको आयात भने २८ प्रतिशतले बढेको छ ।

 

भान्छामा दैनिक प्रयोगमा आउने तेल आयातका क्रममा आर्थिक वर्ष २०७५/७६ मा ३४ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बाहिरीएको छ । उक्त मूल्यको तेल आयातबाट सरकारले ७ अर्ब ४७ करोड २१ लाख रुपैयाँ राजश्व संकलन गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

आर्थिक वर्ष २०७४/७५ मा २७ अर्ब २३ करोड ८८ लाख रुपैयाँ बराबरको तेल आयात भएको थियो । उक्त वर्ष तेल आयात मार्फत ४ अर्ब ७३ करोड ५२ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा २६ अर्ब ७८ करोड २९ लाख रुपैयाँ बराबरको तेल आयात भएको थियो । त्यति बेला तेल आयातबाट ४ अर्ब ५ करोड २८ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।यसले हरेक वर्ष नेपालमा तेल आयात बढ्दै गएको देखिन्छ ।

 

आर्थिक सर्वेक्षण २०७५/७६ का अनुसार आर्थिक वर्ष २०७४/७५ को भन्दा २.९३ प्रतिशतले तेलहन वाली बढ्ने उल्लेख छ । सरकारले गतवर्ष २ लाख ५३ हजार ७१ मेट्रिक टन तेलहन वालीको उत्पादन पुग्ने अनुमान गरेको थियो ।

 

गत आर्थिक वर्षमा तेलहन वाली लगाइएको क्षेत्रफल तथा उत्पाकत्वको वृद्धिदर क्रमशः ०.६ प्रतिशत र २.३२ प्रतिशत रहने आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

 

तेलहन वालीको क्षेत्रफल घट्दो

 

कृषि मन्त्रालयको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७१/७२ सालदेखि २०७३/७४ सालसम्ममा लगातार तेलहन वालीको क्षेत्रफल घट्दै आएको छ ।

 

आर्थिक वर्ष २०७३/७४ मा कुल २ लाख १५ हजार ९ सय ५७ हेक्टर क्षेत्रफलमा २ लाख ३१ हजार ९ सय ५० मेट्रिकटन उत्पादन भएको थियो ।

 

आर्थिक वर्ष २०७२/७३ मा २ लाख ३१ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा तेलहन वाली लगाइएको देखिन्छ । सो क्षेत्रफलमा १ लाख ९९ हजार १० मेट्रिकटन तेलहन वाली उत्पादन भएको थियो ।

 

यस्तै आर्थिक वर्ष २०७१/७२ मा २ लाख ३३ हजार ४१ हेक्टर क्षेत्रफलमा तेलहनवाली लगाइएको थियो । सो आवमा उक्त क्षेत्रफलबाट २ लाख ९ हजार ६ सय १२ मेट्रिकटन तेलहन वाली उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ ।

 

कुन वाली कहाँ उत्पादन गरिन्छ ?

 

तेल उत्पादनका लागि नेपालमा मुख्य गरी बदाम, तिल, रायो, तोरी लगायतका वाली लगाइने गरिन्छ । नेपालमा बदामका ६ प्रकारका वालीहरु रहेका छन् । बी.४, जनक, ज्योती, जयन्ती, राजर्षि र वैदेही लगायतका जातका बदामको वाली लगाइन्छ । सो वाली विशेष तराई, भित्री मधेश र मध्ये पहाडी क्षेत्रमा लगाइने गरिन्छ ।

 

यस्तै, तोरीको वालीका ८ वडा जाती रहेका छन् । विकास, लुम्ले १, प्रगति, उन्नति, प्रिति, मोरङ तोरी–२, जे वाई–१६, सुर्खेत स्थानीय तोरी–३ लगायतका जातका तोरीका वालीहरु रहेका छन् ।तोरीका यी जातका वालीहरु विशेष तराई तथा मध्य तराई, भित्री तराई, मध्ये पश्चिमी तराई, मध्यमाञ्चलदेखि सुदूरपश्चिमका जिल्लाहरुमा समेत उत्पादन हुने गर्छ ।

 

रायोको वाली तराई, भित्री मधेस, मध्यमाञ्चलको तराई क्षेत्रमा लगाइने गर्छ । रायोका पुसा बोल्ड र कृष्ण नामक दुई जातका बिरुवा रहेका छन् ।

 

तिल नवलपुर खैरो र नवलपुर झुसे गरी दुई जातका हुन्छन् । जुन तराई, भित्री तराई, सिरहादेखि नेपालगञ्जका तराई जिल्लामा समेत उत्पादन हुने गर्छ ।

 

नेपालमा उद्योगको रुपमा तेल उत्पादन गर्ने धेरै उद्योगहरु छैनन् । नेपालमा थोरै मात्रामा यस्ता कम्पनीहरु छन्, जसले तेल उत्पादन गर्छ । जुन नेपालमा तेल उत्पादनका लागि पर्याप्त छैनन् ।

 

उद्योग विभागका अनुसार २/३ वटा तेल उद्योग मात्र दर्ता भएर सञ्चालनमा रहेका छन् । प्रायः उद्योग विभागमा दर्ता हुने कम्पनीको लगानी १० करोडको हाराहारीमा हुनुपर्ने भएकाले खासै तेल उद्योग दर्ता हुन नआएको विभागले जनाएको छ ।
नेपालमा तेल साना मिलहरुबाट उत्पादन हुने भएकाले प्रायः मिलहरु घरेलु उद्योगमा दर्ता हुने गरेको विभागले जानकारी दिएको छ ।

 

उद्योगहरु आयातमै निर्भर

 

नेपालमा तेलको माग साढे ३ लाख मेट्रिकटनको हाराहारीमा रहेको छ । तेल उद्योगहरुले ५ देखि ८ लाख मेट्रिकटन खाने तेल उत्पादन गर्ने गर्छन् । यसो हेर्दा नेपाल तेलमा आतमनिर्भर जस्तो देखिए पनि यी सबै उत्पादीत तेलका लागि कच्चा तेल आयात हुने गरेका छन् ।

 

नेपालभर ४० वटाका हाराहारीमा खाने तेलका ठूला उद्योग रहेका छन् । उक्त उद्योगहरुले कच्चा तेल आयात गरेर त्यसलाई रिफाइन गरी प्याकेजीङ गर्ने गर्छन् । नेपालमा अर्जेन्टिना, मलेसिया, भारतलगायतका मुलुकबाट बढी कच्चा तेल आयात हुने गर्छन् ।

 

सो तेलको मूल्य नेपाली बजारमा १ सय १० रुपैयाँ प्रतिलिटरदेखि २ सय ५० रुपैयाँ प्रतिलिटरसम्ममा विक्री हुने गर्छ ।
विशेष गरी सनफ्लावर र सोयाबिनका तेल धेरै आयात हुने गरेका छन् । तोरीका तेल केही मात्रामा नेपालमै उत्पादन हुने गरेको पाइन्छ ।

नेपाल एयरलाइन्सले भदौ १२ बाट ओसाकामा नियमित उडान गर्दै Read Previous

नेपाल एयरलाइन्सले भदौ १२ बाट ओसाकामा नियमित उडान गर्दै

शिखर इन्सुरेन्सको नाफा साढे १८% ले बढ्यो, बीमा शुल्क १ अर्ब ५६ करोड Read Next

शिखर इन्सुरेन्सको नाफा साढे १८% ले बढ्यो, बीमा शुल्क १ अर्ब ५६ करोड