काठमाडौं । नेपाल एयरलाइन्सले जापानको ओसाकामा भदौ १२ गतेबाट नियमित उडान सुरु गर्ने भएको छ । एयरलाइन्सको जहाजले ओसाकाका लागि हप्तामा ३ पटक उडान गर्नेछ । पहिलो उडानमा १ सय ५० यात्रु हुने अनुमान गरिएको छ ।
हाल ओसाकाका लागि ५० प्रतिशत कम बुकिङ भए पनि असोज (अक्टोबर) बाट यात्रुको संख्या बढ्ने नेपाल वायु सेवा निगमले जनाएको छ ।
एक वर्षमा ८० प्रतिशतले यात्रुको संख्या बढ्ने निगमका कार्याकारी मदन खरेलले बताए । एयरलाइन्सको दुई वाइड बडि जहाज अन्नपूर्ण र मकालुले ओसाकाको उडान गर्ने उनले जानकारी दिए ।
उनले कुनै पनि एयरलाइन्सको पहिलो उडानले पूरै बुकिङ नहुने भएकोले यात्रुमा विश्वसनीयता बढाउँदै क्रमशः यात्रुको संख्या बढाउँदै लैजाने बताए । ‘सुरुमै कुनै पनि एरलाइन्समा फुल बुकिङ हुन्न, एक महिना हेरौँ कस्तो हुन्छ, त्यसपछि स्वःत यात्रु बढ्ने छन्,’ खरेलले भने ।
ओसाकाका लागि असोज १३ गतेसम्म दुईतर्फि भाडा ७२ हजार रुपैयाँ रहेको छ । असोज १३ पछि ओसाकाको भाडामा पुनरावलोकन गरिने छ ।
यससँगै पुष १६ गतेबाट जापानको नारिटाका लागि पनि उडानको तयारी भइरहेको खरेलले जानकारी दिए । नेपाल एयर लाइन्सले १२ वर्ष अगाडि ओसाका सीसीआर १२९ उडान गरेको थियो । सो समयमा २ लाख ३५ हजार यात्रुलाई सुविधा दिइएको थियो ।
यस्तै, नेपाल एयरलाइन्सले चीन उडानको प्रकृया अघि बढाएकोे छ । एयरलाइन्सले साउदी, भेतनाम, बङ्गलादेश र कोलोम्बिया उडानका लागि समेत कागजी प्रकृया अगाडि बढाएको छ ।