काठमाडौं । देशकै पहिलो केवलकारको रुपमा रहेको गोरखाको मनकामना केवलकारको भाडा ५ प्रतिशतले बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी भाडा वृद्धि गरेको हो ।
चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा २५ रूपैयाँले बढाएर ६ सय ७५ रुपैयाँ पुर्याइएको छ । यसअघि केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेको थियो । यस्तै, एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ पुर्याइएको छ ।
स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको कम्पनीले जनाएको छ । केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ । कम्पनीले दुवै स्थानीय तहलाई प्रति टिकट १ प्रतिशत कर तिर्नुपर्ने भएकाले मूल्य बढाएको कम्पनीले जनाएको छ ।