अमेरिकाद्धारा हुवावे माथि दोस्रो पटक प्रतिबन्ध, सेवा र वस्तु खरिद बिक्रीमा रोक

चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध अरु तीन महिना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले अन्यायपूर्ण कदम भन्दै आपत्ति जनाएको छ।

 

चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ। अमेरिकी वाणिज्य विभागले अमेरिकी कम्पनीमाथि हुवावेलाई सेवा र वस्तु खरिद बिक्रीमा रोक लगाएको यो दोस्रो पटक हो। पहिलो पटक लगाइएको तीन महिने प्रतिबन्ध समाप्त भएलगत्तै तीन महिना थप गरिएको हो।

 

वाणिज्य विभागले हुवावेसँग कारोबार गर्ने ४६ कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ। हुवावेसँग कारोबार गर्ने १०० भन्दा बढी कम्पनी रहेका छन् र अरुमाथि पनि यस्तै रोक लगाइने सम्भावना रहेको छ। अमेरिकी अधिकारीहरुले यसै वर्षको शुरुमा पहिलो पटक प्रतिबन्धहरु घोषणा गरेका थिए।

 

हुवावेले चिनियाँ गुप्तचर निकायलाई गोप्य सूचना संकलन गरी उपलब्ध गराउने र त्यसबाट राष्ट्रिय सुरक्षामै खतरा उत्पन्न हुने अमेरिकी तर्क छ। तर हुवावेले अमेरिकी तर्क हास्यास्पद भन्दै आफू विशुद्ध व्यावसायिक संस्था रहेको दाबी गर्दै आएको छ।

 

पछिल्लो अमेरिकी प्रतिबन्धका बारेमा विज्ञप्ति जारी गर्दै हुवावेले भनेको छ, “प्रस्टै छ कि यो निर्णय राजनीतिक प्रेरित छ र यसको राष्ट्रिय सुरक्षासँग कुनै सम्बन्ध नै छैन। अमेरिकी कदमले खुला बजार प्रतिस्पर्धाका आधारभूत सिद्धान्तलाई उल्लंघन गरेको छ।”

 

हुवावेले अगाडि भनेको छ, “अमेरिकी प्रतिबन्धहरु कसैको हितमा छैनन्, र यो अमेरिकी कम्पनीको पक्षमा पनि छैन। हुवावेको व्यवसायलाई दबाउने अमेरिकी प्रयत्नले अन्ततः अमेरिकालाई नै हानि गर्नेछ, र प्रविधि क्षेत्रको अगुवा हुने अमेरिकी चाहनालाई ठेस पुर्याउनेछ।”

 

 

सोमबारको अमेरिकी कदमपछि पनि हुवावेले अमेरिकामा निर्मित सेमिकन्डक्टर्स र स्मार्टफोन एवं नेटवर्क उपकरणमा आवश्यक अरु सामग्री खरिद गर्न सक्नेछ। अमेरिकी दूरसंचार कम्पनीहरुले हुवावेका नेटवर्किङ उपकरण किन्न सक्नेछन्।

 

 

यसै महिनाको शुरुमा हुवावेले आफ्नै हार्मोनीओएस अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो। अमेरिकी प्रतिबन्धका कारण गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम हुवावेका स्मार्टफोन र अरु उपकरणमा प्रयोग गर्न नपाउने सम्भावना बढेपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम प्रयोगमा ल्याउन थालेको हो।

टाटाको ह्यारीएरको अन्तर्राष्ट्रिय नामाकरणको साक्षी बन्दा... Read Previous

टाटाको ह्यारीएरको अन्तर्राष्ट्रिय नामाकरणको साक्षी बन्दा...

मनकामना केवलकारको भाडा ५ प्रतिशतले बढ्यो Read Next

मनकामना केवलकारको भाडा ५ प्रतिशतले बढ्यो