टाटाको ह्यारीएरको अन्तर्राष्ट्रिय नामाकरणको साक्षी बन्दा…
उज्वल घिमिरे
प्रकाशित : 1:26 pm, मंगलबार, भदौ ३, २०७६

असारको पहिलो हप्ता सिप्रदी ट्रेडिङबाट फोन आयो । ‘एक पटक भोली ११ बजे हाम्रो अफिसमा आउनसक्नु हुन्छ ?,’ चिनेको अवाजमा सोधियो । मैले आफ्नो काम हेरेर हुन्छ भनि हालें । फेरि कौतुहलता छायो र सोधें केही विषेश थियो कि ? उत्तर आयो, ‘टाटाको प्लान्ट भिजिटको तयारी हुँदैछ । छलफल गर्नु छ ।’ मैले भने, ‘ओके सियू टुमरो’

टाटा मोटर्स भारतको ठूलो र प्रतिष्ठित व्यवसायीक घराना टाटा ग्रुपको एक अभिन्न अंग हो । सानैदेखि हाम्रा सडकहरुमा गुडिरहेका टाटाका बसहरु चढेर र देखेर हुर्किएका पुस्ता हौं हामी ।

 

अझ, सामान ढुवानीमा प्रयोग हुने ट्रकहरु त नेपालको आपूर्ती श्रृङखलाको लाइफलाईन नै रहेका छन् । साना पिकअपदेखि टाटामोवाईल हुँदै ठूला ट्रक, हेभी इक्कुप्मेन्टसम्म टाटाका उत्पादनहरु नेपालमा पाउन सकिन्छ ।

सिप्रदीसँगको मिटिङ्गमा थाहा भयो नेपालका केही मिडियालाई सिप्रदी ट्रेडिङ्गले आफ्नो पुणे प्लान्टको भ्रमण गराउने योजना बनाएको रहेछ । उक्त प्लान्टमा विषेशत प्यासेन्जर कार र केही हलुका पिकअपहरु निर्माण हुने गरेका रहेछन् ।

 

हामी यो भ्रमणमा स्टीलको पाताबाट कसरी कार बनेर निस्कन्छ भनेर अवलोकन गर्नेछौं, टाटा मोटर्सका कन्ट्री मेनेजर अजित नारायण सिंहले भने । भारतमा टाटामात्र यस्तो कम्पनी हो, जसले आफैं स्टीलबाट पूर्ण कारको निर्माण सम्पन्न गर्छ ।

 

पहिलो ब्रिफिङ्गमै नेपालमा नआएका टाटाका नयाँ मोडलका कारहरु हेर्ने र आफैं चलाएर अनुभव समेत गर्न पाउने विषय छलफल भयो । साथै, नेपाली बजारमा आउन प्रतिक्षारत टाटा ह्यारीयरको अन्तर्राष्ट्रिय बजारको लागि निर्धारण गरिने नामसमेत खुलासा गर्ने कुरा आयो ।

 

र, टाटाको रेश ट्रयाकमा कार चलाएर अनुभव गर्न पाईने भयो । मिलेको खण्डमा टाटा मोटर्सले जेनेभा मोटर शोमा प्रदर्शन गरेको र भारतमा समेत सार्वजनिक नभएको टाटाको प्रिमियम ह्याचव्याक अल्ट्रोजको समेत चलाउन सकिने जानकारीले मन प्रफुल्लीत भयो ।

केही महिनाअघि लोकसभा निर्वाचन भएको र निर्वाचनको समयदेखि नै भारतीय बजारमा अटोमावाईलको बिक्रीमा मन्दी आएको थियो ।

 

अटोमोवाइल कम्पनीहरुले आफ्ना उत्पादनहरु बिक्री नभएकाले कर्मचारी र उत्पादनमा समेत कटौति गरिरहेको समाचाररु भारतीय मिडियाहरुमा आइरहेका थिए । सायद यही कारणले होला हाम्रो पूणे भ्रमणको निर्धारित मिति केही दिन पछाडि धकेलियो । त्यसपछिको नयाँ मिति थियो अघिल्लो आइतबारको ।

काठमाडौंबाट पूणे जानका लागि सजिलो माध्यम भनेको काठमाडौं–मुम्बई जहाजमा र मुम्बईबाट पूणे सडक वा रेल मार्गबाट जानु हुन्छ ।

 

अहिले नेपाल वायुसेवा निगमको जहाजले मात्र मुम्बई सिधा उडान गरिरहेको छ । हप्ताको तीन दिन आइतबार, बुधबार र शुक्रबार सिधा उडान हुने गरेकाले हाम्रो भ्रमण आइतबार जाने र बुधबार फर्कने भयो ।

मैले भारतको अन्य सहरहरु भ्रमण गरेपनि मुम्बईको भ्रमणको साइत भने जुरेको थिएन । मुम्बई नगए पनि हाम्रा लागि मुम्बई नौलो नाम भने थिएन । हिन्दी सिनेमाले जो सिकाएको थियो ।

 

बलिउडको राजधानीको रुपमा परिचित मुम्बई भारतको पनि सबैभन्दा ठूलो आर्थिक केन्द्र हो । टाटादेखि अम्बानी जस्ता ठूला व्यापारीक समूहको हेडक्वाटर मुम्बईमा नै रहेको छ ।

 

अझ काँचका तथा ठूला पर्दाहरुमा देखिइरहने अमिताभ वच्चन, शाहरुख खान, सलमान खान जस्ता बलिउड सुपरस्टारहरुको समेत घर रहेको मुम्बई धेरै नव–कलाकारहरुको सपनाको सहर नै हो ।

टाटा मोटर्स प्लान्ट भ्रमणमा जान अन्य मिडियामा कुनै समयसँगै काम गरेका साथीहरु समेत रहेकाले यात्रा अझै रमाईलो हुने कुरामा ढुक्क थिएँ । हाम्रो उडानको समय दिनको २ बजे थियो । बिहान ११ः०० मा एयरपोर्टमा भेट्ने सल्लाह भए अनुरुप एयरपोर्ट पुगियो ।

 

सबै साथीहरु जम्मा भएर बोडिङ पासका लागि लामबद्ध भइयो । तर, हामी बसेको लाईन अगाडि सर्दै सरेन, ‘पहिला त कहिल्यै यस्तो हुँदैन थियो’, हामीले आपसमा कुरा गर्यौ । काउन्टरमा थिए नेपाली ढाका टोपी लगाएर बसेका नेवानीका कर्मचारी । हामीले आपसमा कुरागर्यौं ढाकाटोपी लगाएका साथीले सरकारी कर्मचारीबाट ढिलासुस्ती सिकेर आएछन् कि के हो ?

 

बल्ल हाम्रो पालो आयो । ११ जनाको पासपोर्ट संकलन गरेर दियौं । करिब २५ मिनेट कुर्दापनि र्बाेडिङ्ग पास आएन । अति भयो भनेर अगाडि बढेर हेरेको विचरा कर्मचारी हामीभन्दा बढी परेसानीमा रहेछन् ।

 

कारण थियो उनको बोर्डिङ्ग पासको प्रिन्टरले कामै गरिरहेको थिएन । हामीले उनले ढिला गरे भन्ने बुझेको गलत रहेछ ।
र्बाेडिङ्ग पासलिन झन्डै १ घण्टा लाग्यो । त्यसपछि हामी अध्यागमनमा पुग्यौं ।

 

त्यहाँ हामी झण्डै ३ सय यात्रुको पछाडि पर्यौं । उडान नछुट्ने कुरामा त ढुक्क थियौं किनभने हामीसँग र्बाेडिङ्ग पास थियो । अन्य एयरलायन्सका कर्मचारीहरु आफ्ना यात्रु खोज्दै त्यो लाइनसम्म आइपुगी सकेका थिए ।

 

१४ वटा अध्यागमन काउन्टर रहेको स्थानमा जम्मा तीन वटामा मात्र काउन्टर चालु थियो । दिनको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै उडान हुने गरेको छ ।

 

 

तर, किन व्यवस्थापनले उक्त समयमा सबै काउन्टर खोल्नका लागि पर्याप्त कर्मचारीहरु परिचालन गर्न सकेन भनेर मन खिन्न भयो । अध्यागमन सम्बन्धी केही गुनासो वा सुझाव दिनु परेमा कालिकास्थान स्थित अध्यागमन बिभागको केन्द्रिय कार्यालय सम्पर्क गर्नुपर्ने सुचना हेर्दै दिगमिग लाग्ने पुरानो सुचना पाटीमा लेखिएको थियो । अर्थात, एयरर्पोटमा गुनासो गर्ने काउण्टर धरि थिएन ।

 

अध्यागमन पछि सुरक्षा चेकजाँच गर्दैमा लगभग दुई बज्न लागेको थियो । अब सिधै जहाजमा गइने भयो भनेर ढुक्क हुँदै अगाडि बढेको थिँए, नेवानीको न्यारोबडी ए३२० ल्यान्ड हुँदै गरेको देखिहाले ।

 

मनमा शंका उठ्यो, उडान ढिलो हुने भयो । अगाडि बढें । अगाडि राखिएको काँचको पर्दामा आँखा ठेक्कियो । आरए २०१ काठमाडौं मुम्बई फ्लाईट स्टाटसमा ‘डिले’ लेखिएको रहेछ ।

 

थप एक घण्टाको कुराई पछि र्बोडिङ्ग सुरु भयो । निर्धारित समय भन्दा १ घण्टा १० मिनेट ढिलो उड्यो । मुम्बईबाट पुणेको बाटोमा पर्ने पहाडी बाटोको राम्रो दृष्य हेर्दै जाने उद्देश्य पुरा हुन पाएन ।

यो समय मुम्बईको मौसम असाध्यै रमाईलो हुने रहेछ । छिनछिनमा पानी परेर सितलता प्रदान गर्ने । मुम्बई–पूणे हाइवेको अझ रमाईलो अनुभव रह्यो । प्रख्यात अभिनेता आमिर खानको एक चलचित्रको गाना आति क्या खण्डाला ? भन्ने गीतको खण्डाला हिलस्टेसन यहि बाटोमा रहेको हाम्रा चालक सचिनले भनिरहेका थिए ।

 

दुबै तर्फ ३/३ लेन भएको ६ लेनको उक्त पहाडि हाइवेको निर्माण पर्यावरण मैत्री बनाइएको रहेछ । पहाडी भू–वनावटलाई जोगाउनका लागि धेरै ठाँउमा सुरुङ्गको प्रयोग गरिएको थियो । सन् २००२ बाट पूर्ण संचालनमा आएको यो एक्सप्रेसवेले महाराष्ट्र राज्यको आर्थिक राजधानी मुम्बईलाई सांकृतिक राजधानी पूणेसँग जोड्ने काम गरेको रहेछ ।

 

महाराष्ट्र सरकारले बढ्दो दुर्घटना कम गर्नकालागि ट्रान्सपोर्ट कम्पनीका गाडीहरुलाई स्पीड लिमिट लगाउँदो रहेछ । यस्ता गाडीहरु अधिकतम ८० किमि प्रतिघण्टाको स्पीडसम्म मात्र गुडाउन मिल्ने गरेर कम्पनीहरुले नै सेटिङ्ग गरिएका रहेछन् ।

 

एक्सप्रेसवेमा यो स्पीड कमै लागे पनि यात्रुको सुरक्षा पहिलो भन्ने कुरा एकदमै सहि लाग्यो । यहि प्रसंगमा नेपालका लागि टाटा मोटर्सका कन्ट्रि म्यानेजेर अजित नारायण सिंहले थप्दै ‘अबका दिनमा टाटा मोटर्सका प्यासेन्जर कारहरुको पहिलो विशेषता भनेकै सुरक्षा हो । हाम्रो कम्पनीमा आफ्नै क्रयास टेष्टको सुबिधा रहेको छ । हाम्रा उत्पादनहरु हामी आफै क्रयास टेष्ट गराएर सन्तुष्ट भएपछि मात्र बजारमा ल्याउने गर्छौ’ भने ।

 

उनले थपे,‘ नेक्सनले त एसियन एनक्याप रेटिङ्गमा फाइभ स्टारको रेटिङ्ग पाएको छ । भारतीय ग्राहकहरु पनि सचेत हुन थालेका छन् । उनीहरु पहिले गाडि खरिद गर्नू अगाडी कितने देति है (माईलेज) ? भनेर सोध्थे भने अहिले कितना सुरक्षित है ? भनेर सोध्न थालेका छन् ’ बाटामा कहीँ पूल त कही सुरुङ्ग र कहीँ परेको पानी त कहीँ हुस्सुसँग ‘रुवरु’ गर्दै रातको १० बजे पुणे पुगियो ।

 

राती ढिलै सुतिए पनि बिहान ९ः३० बजे टाटाको फ्याट्री भ्रमणका लागि तयार हुन पर्ने उर्दी जारी भएकोे थियो । सधैं ५ बजेपछि निद्रा खुल्ने बानिले त्यहाँ पनि पछ्याइ हाल्यो । निद्रा बिउँझिए पनि जबर्जस्ती १ घण्टा सुतें अनि फ्रेस भएर टोलीलाई मर्निङवाकका लागि निम्ता गरें तर, कसैले चासो देखाएनन् । अनि आफ्नो रुम पार्टनर र नजिकको कोठामा सुतेका साथिलाई बोलाएर मर्निङ्गवाक गइयो ।

 

पानी परेकाले होला पूणेका सडकहरु पनि हिलाम्मे र फोहोर देखिन्थे । विहानको हिडाँइमा प्रख्यात सफ्टवेर कम्पनी इन्फोसीस र टिसीएसका क्याम्पसहरु देख्ने मौका मिल्यो । करिब एक घण्टाको पूणेको हिडाँई र बाटो छेउको मसाला चिया असाध्यै सम्झन लाएक रह्यो ।

होटलमा ब्रेकफास्टपछि टाटा प्लान्टका लागि हामी तयार भयौ । केही मिनेटको गाडीको यात्रापछि विशाल टाटाको प्लान्टमा पुगियो । सन् १९६४ मा स्थापना भएको टाटाको पुणे प्लान्ट भारतकोे दोस्रो ठूलो प्लान्ट रहेछ । बीचमा हाइवेले काटेको १२ हजार एकड क्षेत्रफलमा रहेकोे प्लान्टमा टाटा मोटर्सका धेरै युनिटहरु संचालनमा रहेका छन् ।

 

 

हामी टाटा मोटर्समा पुग्नु अगाडि नै टाटाका प्रतिनिधिले भनेका थिए प्लान्ट भित्र फोटो नखिच्नुहोला । हामीले भनेको ठाँउमा मात्र फोटो खिच्नुहोला । क्यामरा त झोलामा नै थन्क्याइएको थियो । मोवाईलको क्यामरा पनि छोप्नका लागि स्टीकर उपलब्ध गराइयो ।

 

विश्वका सबै अटोमोवाइलका प्लाटहरुमा नयाँ डिजाइनका कारहरुका विकास र टेष्टिङ्गको कार्य भईरहने भएकोले प्लान्ट एरियामा फोटो खिच्न निषेध गरिएको हुन्छ । मलाई याद छ, केही वर्षअघि टोयोटाको नागोयामा रहेको प्लान्टको भ्रमणको अवसरमा पनि मोवाइल र क्यामरा सबै लकरमा राख्न लगाएका थिए जापानीजहरुले ।

प्लान्ट भित्र छिरेपछि हामीलाई स्वागत गर्न टाटा मोटर्स इन्डियाका प्यासेन्जर भेइकलका इन्टरनेसनल विजनेस हेड सुजन रोय तयारी अवस्थामा थिए । उनले हामीलाई टाटाकै मीठो चिया खुवाउदै केही समय उक्त प्लान्ट तथा प्रडक्टका बारेमा भिडियोहरु देखाए र ब्रिफिङ गरे । इन्टरनेसनल बिजनेस हेर्ने भएर होला उनी नेपाल आइरहन्छन् र हामी मध्य धेरैसँग पहिले देखिनै परिचित छन् ।

 

केही समयको अनौपचारिक भलाकुसारीपछि हामी लाग्यौं टाटाको फ्याक्ट्रि अबलोकन तर्फ । हामीलाई अवलोकन गराउनका लागि दुईवटा बिशेष गाडीहरु तयार थिए जसमा झ्यालहरु हटाएर खुल्ला बनाइएको थियो ।

 

उक्त गाडीले हामीलाई भिन्दा भिन्दै फ्याक्ट्रिहरुमा घुमाउदै इन्जिनको एतिहासिक विकास क्रमदेखि, विभिन्न कम्पनीका लागि बनाइएका डाइहरु, गियरबक्स, वेडिङ्ग युनिट, एसम्बेलिङ्ग युनिट हुँदै तयारी गाडी उत्पादन भएर रोलआउट समेत कसरी हुन्छ भन्ने अबलोकन गराए ।

 

हामीलाई साथ दिइरहेका थिए उक्त गाडिका करिब ७० वर्षे ड्राइभर कम फ्याक्ट्री गाइड ज्यादा देखिने बुर्जुकले ।
अन्त्यमा उनले टाटाको नयाँ एसयुभी ह्यारीयर भएको ठाँउमा लगेर अड्याए ।

 

टाटा मोटर्सले आफ्नै ल्याण्ड रोभरको डिजाइन कन्सेप्टमा आधारित भएर लेटेस्ट ओमेगा प्ल्याटफर्ममा निर्माण गरेको पहिलो गाडी टाटाको ह्यारीयर हाम्रो अगाडि थियो । साँच्चैनै ल्याण्ड रोभरलाई बिर्साउने स्तरको रहेछ ह्यारीयर ।

 

रोयले भन्दै थिए, ‘अब टाटा मोटर्सका ४ मिटर लम्बाईसम्मका गाडीहरु अल्फा प्ल्याटफर्ममा बन्ने छ भने ४ मिटरभन्दा ठूला गाडीहरु सबै यही ओमेगा प्ल्याटफर्ममा बन्नेछ ।

यी दुबै प्लयाटफर्महरु टाटा मोटर्सको वेलायत र भारतीय इन्जिनीयरहरुले संयुक्त रुपमा तयार गरेका हुन्’ उक्त स्थानमा सो गाडी राम्रोसँग अवलोकन गर्ने तथा फोटोहरु खिच्ने मौका पाइयो । अब पालो थियो लन्च ब्रेकको ।

टाटा मोटर्सको उक्त प्लान्ट भित्र धेरैवटा क्यान्टिनहरु रहेका रहेछन् । त्यहि मध्य एक क्यान्टिनमा हामी जम्मा भयौ । रोय भन्दै थिए टाटा ग्रुपका अध्यक्ष रतन टाटासमेत कम्पनीमा आउँदा यही क्यान्टिनमा सबै कर्मचारीसँगै लन्च गर्ने गर्छन् । टाटाको उक्त क्षेत्र रक्सी र माछा–मासु रहित रहेको उनले बताए ।

 

लञ्चकै समयमा टाटा ह्यारीयरको नेपाल आउने नाम घोषणा गर्ने विषयले प्रबेश पायो । रोयले पहिला हामीलाई नै प्रश्न गरे,‘ ह्यारियरको नेपालका लागि नामाकरण के हुन सक्छ ?’ हामी सबैले आफ्नो आफ्नो अनुमानित नामहरु प्रस्तुत गर्यौ । तर रोयले चलाखि पूर्वक सबै नामहरु छलफलमा आएको तर कुनै पनि नामहरु नराखिएकोे जानकारी दिए ।

 

पहिला उनले एउटा क्लु दिए जसमा उनको प्रश्न थियो,‘ ह्यारियरको डिजाइन कोड नेम क–कस्लाई थाहा छ ?’ हामीले सजिलै उत्तर दियाैं, ‘एच फाइभ एक्स’ । अनि उनले ह्यारियरलाई अन्तर्राष्ट्रिय बजारमा दिईएको नाम घोषणा गर्दै भने ‘एच–फाईभ…लेजेन्डरी डिएनए’ अन्तर्राष्ट्रिय बजारमा टोयोटासँग ह्यारीयरको नामको पेटेन्ट भएकोले भारतबाहेकका देशहरुमा अब ह्यारीयर एच–फाईभ नामले बेचिने रोयले जानकारी दिए ।

 

एचफाईभ ल्याण्डरोभरको डिजाइन प्याटफर्ममा बनेको तथा यसको लुक्स पनि ल्याण्डरोभरकै डिस्कभरी स्पोर्टसको जस्तै भएकोले यसलाई लेजेन्डरी डिएनए भनिएको उनले थप पुष्टि गरे ।

अब पालो थियो टेष्ट ड्राइभ गर्ने । टाटा मोटर्सको फेसिलीटीमा आफ्नै कोड अफ कन्डक्ट रहेको छ । जसको फलस्वरुप टाटामोटर्सको प्लान्ट भित्रको टेष्ट ड्राइभ सेन्टरमा समेत बिना ड्राइभिङ्ग लाइसन्स गाडी चलाउन अनुमति रहेनछ । हाम्रा केहि साथिहरुले लाइसन्स नलिकन गएकोले एचफाइबको अनुभव लिनबाट बन्चित हुनु पर्यो ।

 

मेरो व्यक्तिगत अनुभवमा एचफाइभ साँच्चैनै लेजेन्डरी रहेको छ । उक्त एसयूभी भित्र बसेपछि यूरोपियन कारको झल्को आउँछ । अत्यन्त आधुनिक ड्यासबोर्ड, डिजिटल डिस्प्ले तथा लेदर सिटले यसको स्तर झल्काएको छ ।

 

आरामदायी क्यावीन स्पेश तथा ठूलो बुटस्पेसले लामो यात्रालाई अझ सहज बनाउने नै छ । उक्त एसयूभीमा रहेको विभिन्न ड्राइभीङ्ग मोडले सबैखाले बाटाहरुमा आरामदायी यात्रा गराउन सघाउने रहेछ । तिब्र गतिमा पनि स्थिर रहने तथा भनेको ठाँउमा रोकिने एसको थप विशेषता हो ।

डिजेल इन्जिन भएर पनि हो कि मेरो अनुभवमा यो गाडी स्टार्ट गर्दा क्याविनमा केही ठूलो आवाज आएको अनुभूती भएको थियो । जुन मैले कमेन्ट गर्दा रोयले यो भारतमा बिक्री भइरहेको उत्पादन हो । नेपालको लागि भइरहेको उत्पादनमा धेरै ध्वनी नियन्त्रण गर्ने उपाएहरु लगाइएकाले यसमा भन्दा क्याविन आवाज धेरै कम आउने बताए ।

 

‘नेपाली ग्राहकहरु ट्रेन्डी, स्टायलीस र फेसिलीटीमा सम्झौता नगर्ने बुझेका हामीले उक्त कुरालाई राम्रो ध्यानमा राखेको छौं‘ उनले भने ।

 

रहर पुग्नेगरि एचफाइभको अनुभव गरेपछि अन्तिम चियाको चुस्की लिदैं टाटा मोटर्सको पूणे प्लान्टलाई आफ्नो स्मृतिमा राख्दै मुम्बई फर्कियौं । हाइवेमा देखिदाँ यो एसयूभी अझ चित्ताकर्षक देखिएको थियो । युरोपियन मेड गाडीको झझल्को गराउँदै थियो ।