काठमाडौं । ग्लोबल आइएमइ बैंकले घर किन्न/बनाउन चाहने ग्राहकलाई लक्षित गर्दै नयाँ घरकर्जा योजना ल्याएको छ । बैंकले प्रिमियमसहित ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको हो ।
बैंकले सस्तो र सरल किस्ताबन्दीमा आवासीय घर निर्माण तथा अन्य बैंक वित्तीय संस्थाबाट घरकर्जा उपभोग गरिरहेको ग्राहकलाई लक्षित गर्दै गर्दै यस्तो योजना ल्याएको हो ।
विशेष आवास कर्जा योजना अन्तर्गत ग्राहकले १५ वर्षसम्म अवधिका लागि अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म ऋण पाउने बैंकले जनाएको छ ।
यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत–प्रतिशत छुट प्रदान गरिनेछ ।
कोरोनाले सृजित अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिनभित्र विना झन्झट कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।
ग्राहकले देशभरका ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यो स्कीम सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ।