वैदेशिक लगानी प्रतिबद्धता २१ प्रतिशतले घट्यो, कुन क्षेत्रमा कति लगानी प्रस्ताव ?

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो वर्षको तुलनामा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ । कोरोनाका कारण विदेशी लगानीकर्ता नयाँ उद्योगमा लगानी गर्न अनिच्छुक हुँदा लगानी प्रस्ताव घटेको हो ।

 

गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा वैदेशिक लगानी प्रतिबद्धता २१ प्रतिशतले घटेको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कुल ३० अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो अघिल्लो आव २०७६/७७ को तुलनामा ७ अर्ब ८५ करोडले कम हो । अघिल्लो आवमा कुल ३७ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

 

आर्थिक वर्ष २०७७/७८ मा विदेशी लगानीका १८१ उद्योग दर्ता भएको विभागले जनाएको छ । उद्योग विभागका वैदेशिक लगानी महाशाखका निर्देशक सुरेश श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि इच्छा देखाउने राष्ट्र समेत विश्वभर भएका कोभिडका कारण पछि हटेको बताए ।

 

उनले गत वर्ष कोभिडका समेत केही प्रतिबद्धता आए पनि यो पटक कोभिडको निषेधाज्ञाको समयमा वैदेशिक लगानी प्रतिबद्धता आउन नसकेको बताए । ‘गत वर्ष कोभिडका बाबजूद पनि सन्तोषजनक लगानी प्रतिबद्धता आएको थियो, यो पटक निषेधाज्ञामा लगानी प्रतिबद्धता आएको छैन, कोभिडले नै असर गरेको देखिन्छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

नेपालमा गत आवमा वैदेशिक लगानीमा दर्ता भएका १८१ उद्योगहरु सञ्चालनमा आएपछि ५ हजार ६९७ जनाले रोजगार पाउने अनुमान गरिएको छ ।

 

कुन क्षेत्रमा कति लगानी प्रस्ताव ?

 

उद्योग विभागको तथ्यांक अनुसार गत आवमा सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । पर्यटन क्षेत्रमा कुल १८ अर्ब ३१ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

 

यस्तै सेवामूलक क्षेत्रमा ५ अर्ब ९८ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । सूचना तथा प्रविधितर्फ गत आवमा २ अर्ब ९५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

 

उत्पादनमूलक क्षेत्रमा कुल २ अर्ब ५९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकले देखाएको छ ।

 

तथ्यांक अनुसार यो पटक ऊर्जामा २७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने कृषि क्षेत्रमा ५२ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

 

ग्लोबल आइएमई बैंकले घर किन्न ७.९९ प्रतिशत ब्याजमै ऋण दिने, कति करोडसम्म पाइन्छ ? Read Previous

ग्लोबल आइएमई बैंकले घर किन्न ७.९९ प्रतिशत ब्याजमै ऋण दिने, कति करोडसम्म पाइन्छ ?

न्यूनतम पारिश्रमिक लागू गर्ने रोजगारदाता संस्थाहरुको सहमति Read Next

न्यूनतम पारिश्रमिक लागू गर्ने रोजगारदाता संस्थाहरुको सहमति