काठमाडौं । कोरोना महामारीका बीच नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
दुईसाता अघि मात्रै भाउ बढाएको निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै नेपालमा पनि भाउ बढाइएको जनाएको छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल/मट्टितेल तथा आन्तरिकतर्फको हवाई इन्धनको खुद्रा विक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।
मूल्य बढेसँगै अब उपभोक्ताले पेट्रोललाई प्रतिलिटर १२९ रुपैयाँ, डिजेल/मट्टितेललाई ११२ रुपैयाँ र हवाई इन्धनलाई ८४ रुपैयाँ प्रतिलिटर तिर्नुपर्ने छ ।
यस्तै, निगमले खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४२५ रुपैयाँ पुगेको छ ।
पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा आउने फेरबदल अनुसार नेपाल आयल निगमले प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।