कहिले हुँदैछ जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) भोलि (बुधबार) बाँडफाँट हुने भएको छ ।विक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार भोलि बिहान साढे ९ बजे लघुवित्तको आइपीओ बाँडफाँट गर्न लागिएको हो ।

 

लघुवित्तले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

निष्काशित कुल सेयरमध्ये ३० हजार ४२० कित्ता लघुवित्तका कर्मचारी, ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोष र १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

 

कम्पनीको आइपीओमा २० लाख ८४ हजार जना बढीले आवेदन दिएका छन् । धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई १८ लाख ४८ हजार १५ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा १ लाख ८४ हजार ८०१ जनालाई मात्र सेयर दिन पुग्छ । आवेदन दिएका करिब ९१ प्रतिशत अर्थात् १९ लाख बढीले सेयर नपाउने देखिन्छ ।

 

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

 

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

 

चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३७.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३८८.२९ रुपैयाँ छ ।

 

ईसेवाबाट बैंकको किस्ता निःशुल्क तिर्न सकिने Read Previous

ईसेवाबाट बैंकको किस्ता निःशुल्क तिर्न सकिने

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ? Read Next

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ?