काठमाडौं । गत असार ९ गते मात्रै पेट्रोलियम पदार्थ मूल्य वृद्धि गरेको निगमले मंगलबार रातिदेखि लागू हुने गरी फेरि मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेलरमट्टितेल तथा आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने एल्पी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको हो ।
निगमको नयाँ मूल्य सूची अनुसार अब पेट्रोलको भाउ प्रतिलिटर १२९ रुपैयाँ, डिजेलरमट्टितेल ११२ रुपैयाँ , आन्तरिक हवाई इन्धन प्रतिलिटर ८४ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १४२५ रुपैयाँ पुगेको छ ।
निगमले रक्सौलमा ६७.७७ रुपैयाँमा किन्ने पेट्रोलमा सरकारले ५६.६१ रुपैयाँ कर लिने गरेको छ । यस्तै, डिजेलमा ३९.२८ रुपैयाँ कर लगाउने गरेको छ ।
महिनाको कम्तीमा दुई पटक पेट्रोलियम पदार्थको भाउ बढाउँदै आए पनि नेपाल आयल निगमको घाटा झनै चुलिँदै गएको छ । गत पुस यता निगम निरन्तर घाटामा रहेको छ । पुसमा पाक्षिक ४० करोड घाटा व्यहोरेको निगमको घाटा आगामी १५ दिनमा बढेर ९३ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।
२०७१ असोज १३ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भए यता निरन्तर नाफामा रहेको निगम चालू आवमा भने घाटामा जाने भएको हो । ६ वर्ष लगातार नाफामा रहेको निगमको घाटा चालू आवमा करिब साढे ४ पुग्ने प्रक्षेपण गरिएको छ ।
निगमलाई कुन इन्धनमा कति रुपैयाँ घाटा ?
मट्टितेल र हवाई इन्धनमा केही नाफा रहे पनि निगमलाई डिजेल, पेट्रोल र एलपी ग्यासमा धेरै घाटा हुने गरेको छ । मट्टितेल र हवाई इन्धनको खपत न्यून रहेकाले निगमको घाटा पूर्तिमा त्यसले उल्लेख्य हिस्सा नओगट्ने निगमको भनाइ छ ।
पछिल्लो पटक (मंगलबार) गरिएको मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर प्रतिलिटर पेट्रोल ७.४५ रुपैयाँ, डिजेलमा ४.३५ रुपैयाँ, ग्यासमा प्रतिसिलिन्डर ३१९.३२ रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।
आगामी १५ दिनमा विक्री हुने परिमाण र मूल्यका आधारमा हिसाब गर्दा निगमलाई ९१ करोड ३५ लाख घाटा हुने प्रक्षेपण गरिएको छ । जसमा ग्यासमा मात्रै ४७ करोड, डिजेलमा ३१ करोड बढी घाटा हुने निगमले जनाएको छ ।
आखिर किन निरन्तर बढ्दै छ निगमको घाटा ?
हाल निगमले खरिद मूल्यको झन्डै दोब्बर मूल्यमा पेट्रोलियम पदार्थ विक्री गर्दै आएको छ । तर पनि निगम भने निरन्तर घाटामा गइरहेको छ ।
यस्तो हुनुको मुख्य कारण सरकारले थुपारेको अचाक्ली कर हो । सरकारले अहिले विभिन्न शिर्षकमा पेट्रोलियम पदार्थमा ५५ प्रतिशतसम्म कर लगाउँदै आएको छ । जसका कारण पेट्रोलियम पदार्थको भाउ अचाक्ली महँगिएको हो ।
निगमले रक्सौलमा ६७.७७ रुपैयाँमा किन्ने पेट्रोलमा सरकारले ५६.६१ रुपैयाँ कर लिने गरेको छ । यस्तै, डिजेलमा ३९.२८ रुपैयाँ कर लगाउने गरेको छ । त्यसमाथि ढुवानी भाडा, विक्रेताको खर्च, निगमको खर्च जोड्दा पेट्रोलको मूल्य प्रतिलिटर १३७ रुपैयाँ पर्ने गरेको छ ।
सस्तो मूल्य हुँदा अधिक कर लगाए पनि अन्तर्राष्ट्रिय बजारमै भाउ बढ्दा पनि सरकारले करको दरमा पुनरावलोकन गरेको छैन । जसले एकातिर निगमको घाटा बढ्दै गएको छ भने अर्कोतिर उपभोक्ताको ढाड सेकिएको छ ।
यस्तै, निगमको घाटा बढ्नुको अर्को कारण अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्यमा निरन्तर वृद्धि हुनु हो । पछिल्लो समय अमेरिकी डलर बलियो हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढेको छ । जसको प्रभाव नेपालमा पनि परेको हो । डिसेम्बरमा प्रतिब्यारेल कच्चा तेलको मूल्य ५६ अमेरिकी डलर रहेकोमा अहिले बढेर ७६ डलर पुगेको छ ।
नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य अझ बढी रहेको छ । भारतीय सीमाको रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३६.६९ रुपैयाँ र डिजल प्रतिलिटर ४३.४४ रुपैयाँले नेपालतर्फ सस्तो रहेको छ ।
८ वर्षअघिकै हाराहारीमा पुग्दै भाउ
त्यसो त अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको यो नै पहिलो घटना भने होइन । करिब सात वर्षअघि यसरी नै मूल्य निरन्तररूपमा बढ्दै गएको थियो । नेपालमा २०७० फागुनमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्चतम विन्दुमा पुगेको थियो ।
त्यो समयमा पेट्रोलको मूल्य १४० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १०९ रुपैयाँ तथा हवाई इन्धन (आन्तरिक)को मूल्य १४३ रुपैयाँ तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिकिलोलिटर १ हजार ४०० अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४७० प्रति सिलिन्डर थियो । यो मूल्य कायम हुँदा अन्तर्राष्ट्रिय बजारमा ‘ब्रेन्ट क्रुड आयल’को मूल्य १४८.९३ अमेरिकी डलर प्रतिब्यारेल थियो ।