काठमाडौं । आजदेखि आन्तरिक हवाई उडान खुला भएको छ । निषेधाज्ञाका कारण २ महिनादेखि बन्द हवाई सेवा आजदेखि पुनः सुचारु भएको हो ।
गतहप्ताको मन्त्रिपरिषदको बैंठकले असार १७ गते (आज)देखि आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णय आजदेखि कार्यान्वयनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थल टर्मिनलको क्षमता अनुसार भीडभाड नहुने गरी १० मिनेटको अन्तरमा एउटा उडान हुने गरी प्राधिकरणले तालिका बनाएको छ ।
प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी उडान तालिका बनाएको छ । यद्यपि, आज निरन्तर वर्षा भइरहेकोले केही गन्तव्यको उडान प्रभावित हुन सक्ने त्रिभुवन अन्तर्राष्टिय विमानस्थलले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको उडान तालिका अनुसार हाललाई बुद्ध एयरलाई दैनिक सबैभन्दा धेरै ३१ उडान गर्न गर्ने भएको छ । यस्तै, यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ उडान गर्न स्वीकृति दिइएको छ। यस्तै, दुर्गम भेगमा उडान गर्ने तारा एयर र समिट एयरले दैनिक ८ वटा उडानको अनुमति पाएका छन् ।
कुन गन्तव्यमा कति उडान ?
बुद्ध एयरले काठमाडौंबाट भैरहवाका लागि दैनिक ५, विराटनगर दैनिक ४ वटा उडान गर्ने तालिका छ । यस्तै, भद्रपुर, सिमरा, जनकपुर, पोखरा र नेपालगञ्जका लागि दैनि ३/३ वटा उडान गर्नेछ । यसैगरी, धनगढीका लागि २, तुम्लिङटार र सुर्खेतका लागि एक उडान गर्ने व्यवस्था मिलाइएको छ ।
यती एयरलाइन्सले विराटनगरमा ३, भद्रपुर, जनकपुर, सिमरा, पोखरा, भैरहवा र नेपालगञ्जका लागि दैनि २/२ उडान गर्ने अनुमति पाएको छ ।
यस्तै, श्री एयरलाइन्सले नेपालगञ्जमा र धनगढीमा दैनिक दुई/दुई उडान गर्नेछ भने भद्रपुर, विराटनगर, भैरहवाका लागि एक/एक उडान गर्ने तालिका छ ।
यस्तै, सौर्य एयर काठमाडौंबाट भद्रपुर, विराटनगर र भैरहवाका लागि एक/एक उडानमा हुनेछ । समिट, तारा र सीता एयरले काठमाडौंबाट लुक्का, फाप्लु, डोल्पा र सिमकोट गरी दुर्गमका लागि दैनिक ८ वटा अनुसार उडान गर्ने अनुमति पाएका छन् । यद्यपि, मनसुन र पर्यटकीय सिजनसमेत नभएकाले यात्रुको चाप अनुसार उडान हुने वायुसेवा कम्पनीहरुले जनाएका छन् ।