काठमाडौं । नागरिक लगानी कोषले कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा योजना ल्याएको छ । कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।
यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।
यस सापटीमा कर्मचारी वचत वृद्धि अवकाश कोषले दिने ब्याजदर सरह नै लिने ब्याजदर निर्धारण गरिएको छ । यस्को मतलव लिने र दिने ब्याजदरको अन्तर शून्य रहेको छ । यस्तो सुविधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीहरुलाई २०७८ पुस मसान्तसम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम सापटी लिएको २ वर्ष भित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।