काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १ साता लम्ब्याइएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी निषेधाज्ञा असार १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
उपत्यकामा जारी निषेधाज्ञा यसअघि थपिएको म्याद भोलि राति १२ बजे सकिँदै छ । निषेधाज्ञाको समयवधि थपिएको यो छैटौं पटक हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
अबको निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो बनाइएको छ । निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा संचालन गर्न दिइने भएको छ । ट्याक्सीहरूलाई पनि जोरबिजोर लागू गरेर चलाउन दिइनेछ । सार्वजनिक सवारीसाधन भने खुला गरिएको छैन् ।
यस्तै, खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, तरकारी, फलफूल, दूध डेरी पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ भने निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिइने छ ।
आर्थिक गतिविधि चलायनमान बनाउन बार अनुसार पसल खोल्न दिइने भएको छ । सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसलहरु आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म खोल्न दिइने भएको छ ।
यस्तै, सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने भएको छ ।
यस्तै, होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न पाउने भएका छन् । कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गरिएको छ । बिउ, मल लगायत कृषि सामग्री ढुवानी गर्न दिइने भएको छ ।