छडको मागमा गिरावट, स्टिल उद्योग ३० प्रतिशत क्षमतामा मात्र संचालन

काठमाडौं । छडको मागमा गिरावट आएको छ । जारी निषेधाज्ञा र मनसुन समेत शुरु भएकाले पूर्वाधार निर्माण घट्दा छडको मागमा कमी आएको हो ।

 

पूर्वाधार निर्माण सुस्त भई मागमा कमी आउँदा उद्योगहरुले उत्पादनमा समेत कटौती गर्न थालेका छन् । निषेधाकाका कारण बन्द भएका उद्योगहरुले अहिले मागमा समेत कमी आएपछि आफ्नो क्षमताको करिब ३० प्रतिशत हाराहारीमा मात्र उत्पादन गरिरहेको नेपाल स्टिल रोलिङ मिल एशोसिएसनले जनाएको छ ।

 

अर्घाखाँची स्टिल उद्योगका संचालक पशुपती मुरारकाले आफ्नो स्टिल उद्योग १० देखि १५ प्रतिशत हाराहारीमा सञ्चालनमा रहेको बताए । उनले अन्य स्टिल उद्योगहरु केही बन्द अवस्थामा रहेको तथा केही १५ देखि ३० प्रतिशत मात्र सञ्चालनमा रहेको बताए ।

 

मनसुन शुुरु भएकाले निर्माणका कामहरु ठप्प हुँदा उद्योगहरु सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । वैशाख/जेठमा स्टिल तथा रडकको माग बढी हुने भए पनि यो पटक कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञ हुँदा खासै व्यापार हुन नसकेको उनले बताए ।

 

उनले यो निषेधाज्ञमा पूरै स्टिल उद्योगहरु मध्ये ३० प्रतिशतको हाराहारीमा मात्र चलेको बताए । ‘मेरै उद्योग १० देखि १५ प्रतिशत हाराहारीमा चलेको छ, माग कतै छैन, अरु उद्योगहरु पनि धेरैमा ३० प्रतिशत चलेका होलान नत्र अब मनसुनमा काम हुँदैन,’ उद्योगी मुरारकाले चाणक्य पोष्टसँग भने ।

 

उनले हालको अवस्थामा स्टिल उद्योगीहरु घाटामा रहेको बताए । कर्मचारीलाई तलब दिनुपर्ने, सरकारलाई कर छुट्टै दिनु पर्ने, स्टिल तथा रडको माग नहुँदा हाल स्टिल उद्योग घाटामा रहेको हो ।

 

स्टिलको कच्चा पदार्थहरु भारतबाट सहजै आइरहेकाले स्टिल उत्पादनमा समस्या नरहे पनि माग नहुँदा अब अझै केही समय स्टिल उद्योग ठप्प रहने उनको भनाइ छ ।

 

स्टिलका कच्चा पदार्थ भारतबाट ल्याउनु पर्ने र कच्चा पदार्थको मूल्य वृद्धि भएको बताए । कच्चा पदार्थको मूल्य वृद्धि भए पनि माग नहुँदा अझै १ वर्ष रडकको मूल्य वृद्धि नहुने उनको बुझाइ छ ।

 

हाल स्टिल उद्योगहरुसँग २ देखि ३ हजार विलेट (स्टिल बनाउने कच्चा पदार्थ) स्टक रहेको छ । नेपालमै भएका स्टकहरु सप्लाईमा केही समस्या सृजना भएको छ ।

 

अब बर्खासँगै ४ महिना निर्माण उद्योगहरुका लागि कठिन हुने अनुमान गरिएको छ । यो अवधिमा कम्पनीहरुलाई फाइदा नहुने मुरारका बताउँछन् ।

 

सरकारले उद्योगीहरुलाई ब्याजमा सहुलीयत दिनु पर्ने उनको माग रहेको छ । साथै रिफाइनान्सीङको व्यवस्थालाई समेत निरन्तरता दिएमा उद्योगीहरुले केही राहत मिल्ने उनको भनाइ छ ।

 

देशभर डेढ दर्जन स्टिल उद्योग रहेका छन् । रड तथा स्टिल उद्योगमा ७५ अर्ब रुपैयाँ हाराहारीमा लगानी रहेको छ । स्वदेशी स्टिल उद्योगहरुको वार्षिक १५ देखि १६ लाख मेट्रिकटन फलामे डण्डी उत्पादन गर्न सक्ने क्षमता छ।

 

तर, विभिन्न प्रकारको अवरोधका कारण उद्योगहरुले पूर्ण क्षमतामा ढण्डी उत्पादन गर्दैनन् । उद्योगहरुले हाल वार्षिक करिब ७ लाख टन फलामे डण्डी उत्पादन गर्दै आएका छन् । नेपाल छड तथा डण्डी उत्पादनमा पूर्ण आत्मनिर्भर रहेको छ ।

असार ११ देखि जीवन विकास लघुवित्तको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ? Read Previous

असार ११ देखि जीवन विकास लघुवित्तको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ?

थप ६ देशमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुचारु हुने Read Next

थप ६ देशमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुचारु हुने