घट्यो डिजिटलमार्फत हुने भुक्तानी कारोबार

काठमाडौं । वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकममा साढे २ अर्बभन्दा बढीले कमी आएको छ ।

 

निषेधाज्ञा शुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा शुरु भएसँगै कारोबारको सङ्ख्या र परिमाण घटेको राष्ट्र बैंकको तथ्याङ्कमा छ । निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोबार रकममा कमी आएको हो ।

 

गत चैतमा डिजिटल भुक्तानीमार्फत १ खर्ब ६६ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएकामा वैशाखमा उक्त कारोबार रकममा कमी आई १ खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ । गत वर्षकोे निषेधाज्ञासँगै कारोबार रकममा वृद्धि हुँदै आएकामा निषेधाज्ञा लागू भएसँगै कारोबार रकममा कमी आएको हो ।

 

कुनको कति रकम घट्यो ?

 

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत चैतकोे तुलनामा कनेक्ट आइपीएसमार्फत हुने कारोबार रकममा ९३ करोड २० लाखले कमी आएकोे छ । वैशाखमा कनेक्ट आइपीएसमार्फत १ खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोबार भएको छ । गत चैतमा १ खर्ब ४१ अर्ब ८० करोढ २० लाख बराबरको कारोबार भएको थियो भने फागुनमा १ खर्ब १० अर्ब ५७ करोड २० लाख बराबरको कारोबार भएको थियो ।

 

चैतमा २० लाख ३८ हजार ४६५ पटक कनेक्ट आइपिएसको प्रयोेग भएकामा वैशाखमा १८ लाख ४३ हजार ५५१ पटक मात्र कारोबार भएको छ । यस्तै गत चैतकोे तुलनामा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार रकममा समेत कमी आएको छ । वैशाखमा १० अर्ब ८० करोड बराबरको कारोबार भएकामा गत चैतमा १० अर्ब २१ करोड पाँच लाख बराबरको कारोबार भएको थियो ।

 

गत चैतमा वालेटमार्फत ११ अर्ब २१ लाख बराबरको कारोबार भएकामा वैशाखमा १० अर्ब १० लाख बराबरको कारोबार भएको छ । क्युआरमा आधारित भुक्तानीमार्फत गत चैतमा २ अर्ब ७२ करोड २२ लाख बराबरको कारोबार भएकामा वैशाखमा २ अर्ब ५२ करोड ९० लाख कारोबार भएको छ ।

 

यस्तै गत चैतमा अनलाइन (इ–कमर्स) का माध्यमबाट १० अर्ब ५८ करोड बराबरको कारोबार भएकामा वैशाखमा कारोबार रकममा कमी आई ७६ करोड ८० लाख बराबरको कारोबार भएको छ । अन्य डिजिटल माध्यमबाट गत चैतको तुलनामा वैशाखमा कारोबार रकममा कमी आए तापनि मोबाइल बैङ्किङमार्फत हुने कारोबार रकममा केही वृद्धि भएको छ ।

 

गत चैतमा मोबाइल बैङ्किङमार्फत ४८ अर्ब ६५ करोड २० लाख बराबरको कारोबार भएकामा वैशाखमा ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोबार भएको छ । गत चैतको तुलनामा वैशाखमा २३ करोड ५० लाख बराबरले वृद्धि भएको छ ।

रोनाल्डोको कारण कोकाकोलाको सेयर मूल्यमा भारी गिरावट, एकैदिन गुमायो साढे ४ खर्ब Read Previous

रोनाल्डोको कारण कोकाकोलाको सेयर मूल्यमा भारी गिरावट, एकैदिन गुमायो साढे ४ खर्ब

सेयर बजारमा पहिरो, यी १४ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट Read Next

सेयर बजारमा पहिरो, यी १४ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट