काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा भारी गिरावट आएको हो ।
आज सेयर बजार मापक सूचक नेप्से ५२ अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बले घटेरअर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ५२.४१अंकले घटेर २९६९.६९ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको १५ अर्ब ४८ करोड रुपैयाँ बढीको ३ करोड ९ लाख ५४ लाख कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये माइक्रोफाइनान्स बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ७.८ प्रतिशतले घटेको छ । त्यस्तै, होटल ५ प्रतिश, विकास बैंक र हाइड्रोपावर समूह ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबारमा आएका २१९ कम्पनीमध्ये जम्मा ६० कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ६१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्ट्रीलरी ५५ करोड र नेशनल हाइड्रो ४६ कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
उच्च अंकले घटेको बजारमा आज १ दर्जन बढी कम्पनीको सेयर मूल्य नेगेटिभ सर्किट लागेको छ । जोशी हाइड्रोपावर, गोर्खा फाइनान्स, नेशनल हाइड्रो, छ्याङ्दी, आँखुखोला, घलेम्दी, पञ्चकन्यामाइ, दिव्यश्वरी हाइड्रोपावर, बेस्ट फाइनान्स, मल्टिप्रपोज, नेपाल, पोखरा र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।
घट्दो बजारमा आज सीईडीबी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।