लगानीकर्ताको सम्पत्तिमा खेलवाड गर्दै बोर्ड, एकैदिनमा १ खर्ब ८२ अर्ब स्वाहा !

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा भारी गिरावट आएको हो ।

 

मंगलबार बोर्डले १ वर्षमा सेयर मूल्य ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका, मूल्य आम्दानी (पीई रेसियो) १०० भन्दा बढी भएका र कम्पनीको हालको वित्तीय अवस्थाका आधारमा मूल्यांकन गरिएको भन्दै सूचीकृत ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियो ।

 

तर, सेयरधनीलाई वर्षौंदेखि आकर्षक लाभांश दिँदै आएका कम्पनीलाई समेत बोर्डले सूचीमा समावेश गरेपछि लगानीकर्ताको मनोबल गिर्दा बजारमा ठूलो गिरावट आएको हो । वित्तीय अवस्था कमजोर भएका कम्पनी सूचीमा हुनु स्वभाविक भए पनि बलिया र वर्षौंदेखि लाभांश दिँदै आएका कम्पनीमा समेत जोखिम भनेपछि बोर्डको कामले बजार तरंगित भएको छ ।

 

नेप्से आज  ५२ अंकले घट्दा लगानीकर्ताले एकैदिनमा १ खर्ब ८२ अर्ब सम्पत्ति गुमाएका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ४१ खर्ब ७२ अर्बबाट घटेर आज ३९ खर्ब ९० अर्बमा सीमित भएको छ ।

 

एकैदिन पौने २ खर्बभन्दा बढी सम्पत्ति गुमाएपछि लगानीकर्ताको धितोपत्र बोर्डको काम र नियतप्रति चर्को आलोचना गरेका छन् । बजारलाई बलियो र व्यवस्थित बनाउनु पर्ने बोर्डले हचुवाको भरमा सूचना सम्प्रेषण गर्दा लगानीकर्ताले खर्बौ गुमाउन बाध्य भएका हुन् ।

 

सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले ठूलो भूमिका खेल्दछ । बोर्डले नामै तोेकेर सर्वसाधरणको खर्बौं लगानी रहेका कम्पनीहरुको सेयर जोखिम रहेको भनेपछि लगानीकर्ता हतोत्साहित हुँदा बजारमा पहिरो गएको लगानीकर्ताहरु बताउँछन् ।

 

लगानीकर्तालाई सचेत गराउनु नियामक निकायको दायित्व भए पनि नामै तोकेर फलानाफलान कम्पनीमा लगानी गर्नु सुरक्षित छैन भन्नु नियामकको गैरजिम्मेवारीपन भएको उनीहरुको आरोप छ ।

 

‘सेयर बजारमा चलखेल र कर्नरिङ भएमा अनुसन्धान गरी कारबाही गर्ने बोर्डको दायित्व हो,’ सेयर लगानीकर्ता रमेश कँडेलले भने, ‘तर, बोर्डले हचुवाका भरमा वर्षैदेखि बम्पर लाभांश दिँदै आएका कम्पनीलाई समेत जोखिमपूर्ण सूचीमा राखेको छ । यो लगानीकर्ताको सम्पत्तिमाथि भएको गम्भीर खेलवाड हो ।’

 

कर्नरिङ गर्नेलाई कारबाहीको दायारामा ल्याउनुको सट्ट झन्डै एक चौथाई कम्पनीलाई जोखिमपूर्ण सूचीमा राखी बोर्डले लगानीकर्तालाई त्रासित बनाएको देखिन्छ ।

 

पछिल्लो समय वित्तीय अवस्था कमजोर भएका, वर्षौंदेखि लाभांश दिन नसकेका, थोरै चुक्ता पूँजी भएका केही कम्पनीको सेयर कर्नरिङ गरी अस्वभाविक मूल्य बढाइएको छ ।

 

तर, चलखेल गर्ने व्यक्ति वा समूहको नाम सार्वजनिक गरी कारबाहीको दायारामा ल्याउनुको सट्टा बोर्डले कम्पनीको नाम सार्वजनिक गरेर लगानीकर्तालाई हतोत्साहित र त्रासित बनाएको छ । चोर पहिचान गरी दण्डित गर्नुको सट्टा बोर्डले सम्पत्ति मालिकलाई तिम्रो सम्पत्ति नराम्रो छ त्यसैले चोरी भयो भनेको देखिन्छ ।

 

वित्तीय अवस्थामा आधारमा मात्रै कुनैपनि कम्पनीको सेयर मूल्य निर्धारण हुँदैन । माग र आपूर्तिका आधारमा समेत मूल्य निर्धारण हुने भएकाले सबै कम्पनीको मूल्य वृद्धिलाई बोर्डले एउटै तराजुमा राखेर तौलेको देखिन्छ ।

 

बोर्डको सूचीमा बजारका ठूला र केही ब्लुचिप कम्पनी समेत रहेका छन् भने पछिल्लो १ वर्ष कारोबार नै नभएका कम्पनी समेत छन् । यसले बोर्डको कम्पनी छनोटमै प्रश्नचिह्न समेत खडा गरेको छ । केही लगानीकर्ताले त बोर्डले कम्पनीलाई विभाजन गरी आफै सेयर चलखेलमा लागेको आरोप समेत लगाएका छन् ।

 

यता, बोर्डले भने लगानीकर्ता नडुबुन भनेर आफूहरुले सचेत गराएको बताएको छ । वर्षौंदेखि घाटामा रहेका, लाभांश दिने क्षमता नभएका, वित्तीय विवरण सार्वजनिक नगरेका कम्पनीको समेत अस्वभाविक मूल्य वृद्धि हुँदा सोझा फस्ने सम्भावना देखेपछि सचेत गराइएको बोर्डको भनाइ छ ।

 

लगानीकर्ताको सम्पत्ति नडुबोस् भनेर बोर्डले चासो राख्नु र सचेत गराउनु सकारात्मक भए पनि बजार प्रभावित पार्ने गरी कामकारबाही गर्नु भने न्यायोचित देखिँदैन ।

सेयर बजारमा पहिरो, यी १४ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट Read Previous

सेयर बजारमा पहिरो, यी १४ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट

असार ११ देखि जीवन विकास लघुवित्तको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ? Read Next

असार ११ देखि जीवन विकास लघुवित्तको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ?