मंगल ग्रहमा बस्ती बसाउन आफ्नो घर बेच्दै टेस्लाका मालिक एलन मस्क

ब्लुम्बर्ग । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले मंगल ग्रहमा बस्ती बसाल्न आफ्नो घर समेत बेच्ने योजना बनाएको खुलासा गरेका छन् ।

 

मस्कले ट्वीटरमार्फत् क्यालिफोर्नियास्थित बे एरियाको विशेष ठाउँमा रहेको आफ्नो सम्पत्ति बेच्न लागेको जानकारी दिएका हुन् । मस्कले आफ्नो ट्वीटमा लेखेका छन्, ‘मेरो बँचेको घर बेच्ने निर्णय गरेँ । त्यहाँ (मंगल ग्रहमा) बस्ने ठूलो परिवारसँग जानका लागि यहाँको घर बेच्न आवश्यक परेको हो । यो निकै विशेष ठाउँ हो ।’

 

मंगल ग्रहमा बस्ती बसाल्ने योजना पूरा गर्न रकम जुटाउनका लागि आफूले आफ्नो सबै घर सम्पत्ति विक्री गर्ने मस्कले बताउँदै आएका छन् ।मंगल ग्रहमा बस्ती स्थापना गरी सन् २०५० सम्ममा पृथ्वीबाट १० लाख मानिसलाई मंगल ग्रहमा पठाउने योजना उनको छ ।

 

गतसाता मस्कलगायतका विभिन्न अर्बपतिहरुले कर छली गरेर निकै कममात्र कर तिरिरहेको रिपोर्ट सार्वजनिक भएपछि मस्कले आफ्नो घर बेच्न लागेको बताएका हुन् ।

 

प्रो पब्लिकाले गत हप्ता सार्वजनिक गरेको रिपोर्टमा अमेजनका सीईओ जेफ बेजोस तथा बर्कशाएर कम्पनीका अध्यक्ष वारेन बफेटले आफ्नो आम्दानीको तुलनामा निकै कम आयकर तिरिरहेको र एलन मस्कले सन् २०१८ मा कुनै पनि संघीय आयकर नतिरेको खुलासा गरेको थियो । मस्कले सन् २०१५ र २०१७ मा ७० हजार डलर भन्दा कम आयकर तिरेको पनि उक्त रिपोर्टले देखाएको छ ।

 

गत महिना एक ट्वीट गर्दै मस्कले आफूसँग अब केवल सन फ्रान्सिस्को बे एरियामा एउटामात्र घर रहेको र त्यो पनि भाडामा दिएको बताएका थिए । उक्त घर ठूलो परिवारले किनेमा मात्र काम आउने खालको रहेको र भविष्यमा विक्री हुने विश्वास व्यक्त गरेका थिए ।

 

हाल एलन मस्क टेक्सासस्थित बोका चिकामा रहेको एउटा घरमा भाडामा बस्दै आएका छन् । उनले उक्त घरका लागि मासिक ५० हजार डलर भाडा तिर्दै आएको जनाएका छन् । रोचक त के भने मस्कले आफु बस्ने घर आफ्नै कम्पनी स्पेस एक्ससँग भाडामा लिएका हुन् ।

 

३ दिनदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प, बन्द हुन थाले पेट्रोल पम्प Read Previous

३ दिनदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प, बन्द हुन थाले पेट्रोल पम्प

यथाशिघ्र आन्तरिक उडान खुला गर्न वायुसेवा संचालकको माग Read Next

यथाशिघ्र आन्तरिक उडान खुला गर्न वायुसेवा संचालकको माग