काठमाडौं । कोरोना विरुद्धको खोप उपलब्ध नगराएको भन्दै ट्यांकर चालकहरूले इन्धन ढुवानी ठप्प पारेका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको अगुवाईमा चालकहरुले ३ दिन (आइतबार) देखि इन्धन ढुवानी ठप्प पारेका हुन् ।
सरकारलाई खोप उपलब्ध गराउन पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै चालकहरुले आइतबारदेखि वाग्मती प्रदेशमा पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेका छन् ।
तीन दिनसम्म इन्धन ढुवानी नभएपछि काठमाडौं उपत्यकाका पम्पहरु धमाधम बन्द हुन थालेका छन् । स्टकमा रहेको इन्धन सकिएको र माग बमोजिम ढुवानी हुन नसकेपछि संचालकहरुले पम्प बन्द गर्न थालेका हुन् ।
यसैबीच, तेल विक्री गर्ने मजदुरलाई खोपको व्यवस्था नगरिएको भन्दै बुधबारदेखि पेट्रोल पम्प बन्द गर्ने व्यवसायीहरुले जनाएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन मजदुरलाई तत्काल खोप उपलब्ध नराउँदासम्म वाग्मती प्रदेशभरका पम्पहरु बन्द हुने जनाएको छ ।
यता, ढुवानी ठप्प भई तेलको अभाव हुन थालेपछि नेपाल आयल निगमले तत्काल चालकलाई खोप उपलब्ध गराउन सरकार समक्ष आग्रह गरेको छ । निगमले आग्रह गरे पनि सरकारले खोप उपलब्ध गराउने बारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।