विद्युत प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणलाई पब्लिक कम्पनी बनाउने भएको छ । प्राधिकरणलाई पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई सेयर दिने तयारी सरकारले गरेको हो ।

 

उर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणलाई पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई सेयर दिने गृहकार्य अगाडि बढेको जानकारी दिए । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरण ऐनलाई संशोधनको प्रक्रिया शुरु गरेको छ । सो ऐन संशोधन भएर आएपछि प्राधिकरण कम्पनी ढाँचामा रुपान्तरण हुनेछ ।

 

‘नेपाल टेलिकमजस्तै सर्वसाधारणलाई समेत लगानीका लागि प्रेरित गर्ने योजनामा प्राधिकरण छ । प्राधिकरणलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ आम नागरिकलाई समेत सेयरधनी बनाउने योजनामा मन्त्रालय लागेको मन्त्री पुनले बताएका छन् ।’

 

प्राधिकरणले करिब २ वर्ष अगाडि आफ्नो वित्तीय पुनसंरचना योजना पारित गरेको थियो । सोही योजना अनुसार प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणलाई विक्री गर्ने सरकारी तयारी हो ।

 

प्राधिकरणको कार्यकारी निर्देशक हुनुअघि कुलमान घिसिङ प्राधिकरणकै सहायक कम्पनी चिलिमे जलविद्युत आयोजनाको प्रमुख थिए । चिमिलेमा सफलतापूर्वक काम गरेपछि नै उनलाई प्राधिकरणको नेतृत्व दिइएको थियो ।

 

प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजनामा सर्वसाधारणको लगानी पनि छ । माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन, मध्यभोटेकोशी जस्ता आयोजनामा सर्वसाधारणको सेयर छ ।

 

आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको प्राधिकरणले २०७५/७६ मा नाफालाई १४९ प्रतिशतले वृद्धि गरी ७ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ ।

 

प्राधिकरणले आव २०७५/७६ मा सरकारको ढुकुटीमा १ अर्ब रुपैयाँ, विगतका वर्षको ब्याजसमेत १३ अर्ब १६ करोड रुपैयाँ र रोयल्टीबापत १ अर्ब ४४ करोड रुपैयाँ गरी १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ ।

 

यस्तै चुहावट घटाउनेतर्फ पनि प्राधिकरणले उल्लेख्य सफलता हासिल गरेको छ । आव २०७२/७३ मा कूल चुहावट २५.८ प्रतिशत रहेकामा ३ वर्षभित्र १०.४६ प्रतिशतले घटाई १५.३२ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

 

प्राधिकरणको सञ्चित घाटा भने अझै १५ अर्ब रुपैयाँको हाराहारी रहेको छ । सरकारलाई उक्त घाटाको अपलेखन गरिदिन प्राधिकरणले आग्रह गर्दै आएको छ । यो घाटा अपलेखन भएपछि सर्वसाधारणलाई सेयर विक्री गर्ने तयारी प्राधिकरणको हो । रासस

आर्थिक वर्षको पहिलो महिनामा ६७ अर्ब राजश्व संकलन, पूँजीगत खर्च ५९ करोड मात्र Read Previous

आर्थिक वर्षको पहिलो महिनामा ६७ अर्ब राजश्व संकलन, पूँजीगत खर्च ५९ करोड मात्र

चीनद्धारा सिगात्से–केरुङ रेलमार्ग निर्माण सुरु, बीआरआइमार्फत नेटवर्क हब बन्दै नेपाल Read Next

चीनद्धारा सिगात्से–केरुङ रेलमार्ग निर्माण सुरु, बीआरआइमार्फत नेटवर्क हब बन्दै नेपाल