काठमाडौं। अब निषेधाज्ञाको अवधिमा पनि इ-कमर्श व्यवसाय संचालन गर्न पाउने भएका छन् ।
फुड डेलिभरी तथा इ-कमर्श कम्पनीहरुले निषेधाज्ञामा व्यवसाय संचालन गर्न पाउनु पर्ने भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै बाटो खुला गरिदिएको हो ।
सोमबार न्यायाधीशद्धय डा. कुमार चुडाल र सपना प्रधान मल्लको संयुक्त इजलासले व्यवसायीको पक्षमा आदेश जारी गरेको हो ।
अनलाइन फुड डेलिभरी कम्पनी भोजडिल्सका संस्थापक निकेत अग्रवालसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ जेठ ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त रिट माथि जेठ ४ गते न्यायाधीश दीपकुमार कार्कीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
निषेधाज्ञामा सरकारी कम्पनीहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टेडिङलाई अनलाइन व्यापार गर्न दिएको तर आफूहरुलाई भने बन्देज लगाइएको भन्दै व्यवसायीहरुले रिट दायर गरेका थिए ।