काठमाडौं । सिभिल बैंक लिमीटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७६ करोड ४ लाख रुपैयाँ खूद नाफा कमाएको छ।
यो आर्थिक वर्षको यसै अवधिको तुलनामा २०.७२ ले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा नाफा ६२ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सिभिलको वितरणयोग्य मुनाफा ५५ करोड ६९ लाख ८६ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले आफ्ना शेयरधनीलाई अधिकतम ७% लाभांश बाँड्न सक्दछ ।
खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा ५६.३६% ले बढेर २ अर्ब २० करोड २२ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ४० करोड ८३ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा यस अवधिमा २३.२१% ले बढेर १ अर्ब २१ करोड १९ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म सिभिलको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ६१ करोड ९ लाख १८ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष यतिबेला जगेडा कोषमा १ अर्ब ४८ करोड ४५ लाख ९७ हजार रुपैयाँ थियो ।
सिभिलले गत वर्ष ४२ अर्ब २ लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ६९ करोड ४२ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ ।
बैंकको प्रतिसेयर आम्दानी ८२ पैसाले बढेर ९.५० रुपैयाँ पुगेको छ । सिभिलको प्रतिसेयर नेटवर्थ १२७.९८ रुपैयाँ छ ।