काठमाडौं । दूधको मूल्य बढाउनु पर्ने भन्दै दूग्ध डेरी एसोसिएसनहरुले सरकारसँग माग गर्दै आएका छन् । सरकारले पनि सरोकारवालाको मागलाई ध्यानमा राख्दै समिति गठन गरिसकेको छ ।
डेरी व्यवसायीहरुले दूधमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गर्नु पर्ने माग राखेका छन् । कम्तिमा ६ देखि ८ रुपैयाँसम्म वृद्धि हुन सक्ने सम्भावना रहेको डेरी एसोसिएसनले जानाएको छ ।
अहिले नेपालमा दैनिक ४ लाख लिटरको हाराहारीमा दूध उत्पादन हुँदै आएको छ । तर, बजार माग भने दैनिक ५ लाख लिटर दूधको रहेको व्यवसायी बताउँछन् ।
झण्डै एक लाख लिटर दूध बजारमा अपुग रहेको छ । यसरी अपुग दूधलाई पर्याप्त बनाउन पाउडर दूधको पनि प्रयोग गर्न सकिन्छ । तर, नेपालमा उत्पादन हुने पाउडर दूध पर्याप्त नभएको व्यवसायीहरु बताउँछन् ।
कामधेनु दूग्ध विकास सहकारी संस्थाका अध्यक्ष टेकप्रसाद ओझाका अनुसार दाना र घाँसको मूल्य बढेकाले दूध उत्पादनको लागत बढेको हो ।
उनले दूध उत्पादनको लागत बढेको तर त्यसमा सरकारले कुनै अनुदानको व्यवस्था नगरेको बताए ।
‘दूधको मूल्य बढ्नु उपभोक्ता मारमा पर्नु हो, सरकारले दूधको मूल्य जति बढाए पनि त्यसले दूधको उत्पादन लागत घटाउन सक्दैन,’ ओझाले चाणक्य पोष्टसँग भने ।
उनले किसानबाट आफुले ५४ देखि ५५ रुपैयाँ प्रतिलिटरमा दूध किन्ने गरेको बताए । सोही दूध बजारमा ९० रुपैयाँसम्ममा विक्री हुने गर्छ ।
‘विगतमा ६०/७० हजार रुपैयाँमा पाइने गाइको मूल्य अहिले १ लाख २० हजार रुपैयाँ पर्न थालेको छ । साथै, अनुसार अन्य वस्तुमा पनि किसानको लागत बढेको छ । तर, किसानले पाउने मूल्य बढेको छैन,’ ओझाले भने ।
उनले भारतमा दानादेखि अन्य धेरै क्षेत्रमा किसानले अनुदान पाउने गरेको तर, नेपालमा किसानले पशुपालन व्यवसायमा कुनै प्रकारको अनुदानको ब्यवस्था नरहेको बताए ।
उनले पशु आहार, बीमा, उत्पादनमा कुनै अनुदान नभएको भन्दै यसमा सरकारले कुनै चासो नदेखाएको गुनासो गरे । किसानको उत्पादन लागत घटाउनतर्फ लागे मात्र दूधको मूल्य धेरै बढाउनु नपर्ने उनको तर्क छ ।
‘किसानलाई प्रोत्साहन गर्ने कुनै काम सरकारबाट भएको छैन, दानामा मात्र अनुदान पाए पनि दूध उत्पादन लागत कम हुनेछ । नत्र, अब बिस्तारै किसान यो व्यवसायबाट पछि हट्ने छन्, र सधै दूध अभाव भइरहनेछ,’ ओझाले भने ।
नेपालमा दाना उत्पादन कमहुनुका साथै गुणस्तरीय दाना नपाउने अवस्था रहेको छ । पशु दानाको मूल्यप्रतिकेजी २० देखि ३० रुपैयाँ रहेको छ । दानाको मूल्यमा पछिल्लो समय १५ देखि १८ रुपैयाँ वृद्धि भएको उनले जानकारी दिए ।
दूध आयातको अवस्था
डेरी उद्योग संघका अध्यक्ष अरनीको राजभण्डारीले दूध अभावले आयात गर्नुपर्ने अवस्था सृजना भएको बताए । धुलो दूध आयात नगरे पनि कच्चा दूध आयात गरि त्यसबाट पाउडर दूध उत्पादन गर्न सकिने उनले बताए ।
पाउडर दूध उत्पादन भए दूध अभावको समयमा पनि अभाव टार्न सकिने उनको भनाई छ । उनले चाडपर्वका बेला गाउँ–गाउँमा उत्पादन हुने दूध उतै बढि खपत हुँदा बजारमा अभाव देखिन थालिसकेको बताए ।
‘पाउडर दूध बढि उत्पादन गर्न सकियो भने, अभावका समयमा मूल्य बढाइरहनु पर्ने वा आयात गर्नु पर्ने अवस्था आउँदैन,’ राजभण्डारीले भने ।
३ प्लान्टले पूर्ती गर्न सकेनन् दूध अभाव
बजारमा पाउडर दूधको माग २५ सय देखि ३ हजार मेट्रिकटनको हाराहारीमा रहेको छ । ३ वटा पाउडर प्लान्टबाट समेत पाउडर दूधको माग पूरा गर्न सकिएको छैन ।हाल दैनिक १ हजार देखि १२ सय मेट्रिकटनको हाराहारीमा पाउडर दूध उत्पादन हुन्छ ।
बजारमा पाउडर दूध प्रतिकेजी ५ सय ५० रुपैयाँ रहेको छ । गतवर्ष पाउडर दूधको मूल्य ४ सय ५० रुपैयाँ प्रतिकेजी थियो । उत्पादित दूधको ७० प्रतिशत काठमाडौं उपत्यकामा खपत हुने गरेको छ भने त्यसको ३० प्रतिशत अन्य क्षेत्रमा खपत हुन्छ ।
दाना र घाँस बीउ आयात बढ्दै
आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब १९ करोड ९० लाख रुपैयाँ बराबरको दाना आयात भएको छ । यसैगरी, ३ करोड २१ लाख ५४ हजार रुपैयाँ बराबरको घाँसको बीउ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यसरी हेर्दा नेपालमा उत्पादन हुने दूधको मागसँगै उत्पादनका लागि प्रयोग हुने पशु दाना तथा घाँसको बीउको आयात समेत बढ्दो देखिएको छ ।
किसान मारमा
पशुपालन गर्ने किसानहरु दाना र घाँसको बीउको मूल्य बढेपछि मारमा परेका छन् । दाना र घाँसमा लाग्ने मूल्य दूध बेचेर पाउन मुस्कील देखिन थालेको छ । जसका कारण किसान दूध उत्पादनबाट पछि हट्न सक्ने देखिन्छ । यसले दूधको उत्पादन थप घटाउने छ ।
असारदेखि मंसिरसम्म बर्खे घाँस लगाइन्छ भने पुस देखि जेठसम्म हिउदे घाँस उत्पादन गरी त्यसैबाट पशुपालनलाई अघि बढाइन्छ । घाँस जथाभावी काट्न नमिल्ने र त्यसले दूध उत्पादनको मात्रा नबढाउने भएकाले प्राय किसानहरु दानाको प्रयोग गर्छन् ।