कार्तिक २९ गते महासंघको विशेष साधारण सभा, नेतृत्व परिवर्तन मुख्य मुद्दा

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारण सभा आगामी कार्तिक २९ गते हुने भएको छ । विशेषत अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्न रोक्नेगरि प्रस्ताव ल्याउन विशेष साधारण सभा बोलाईएको हो ।

 

गत साउन १५ गतेको बैठकमा विधान संसोधन कमिटिका संयोजक तथा पूर्वअध्यक्ष चण्डीराज ढकालले महासंघको विधान संसोधन गर्न विशेष साधारण सभा गर्ने प्रस्ताव लगे । पशुपति मुरारकाको कडा प्रतिवादपछि १५ गतेको बैंठक विना निर्णय सकिएको थियो ।

 

हिजो असार ३१ गते बसेको कार्यकारीणी समितिको बैंठकले आगामी कार्तिक ३० गते विशेष साधारण सभा आह्वान गरेसँगै पुनः महासंघको राजनीति अन्योल ग्रस्त भएको छ ।

 

‘चण्डीराज ढकाल महासंघमा यति निरंकुश छन् कि उनले १५ दिन अगाडि तोक्ने भनेको कार्तिक २९ को मितिमा नै विशेष साधारण सभा बोलाएका छन् । उनले भनेको मितिमा प्रतिवाद गर्ने कोही देखिएनन् ।’ महासंघका एक कार्यकारीणी सदस्यले भने ।

 

उसोत चण्डीराज ढकाललाई दिनेश श्रेष्ठ, उमेशलाल श्रेष्ठ र किशोर प्रधानले दह्रो साथ दिएका छन्, भने भवानी राणाले पनि अन्तिममा उनलाई नै साथ दिने निचोड निकालिन ।

 

विधान अनुसार साधारण सभामा प्रस्तुत गर्ने एजेन्डा विना नै विशेष साधारण सभाको मिति तोक्न पाईदैन भन्दै केही सदस्यहरुले बोलेपनि ति सदस्यको आवाजको सुनुवाई गर्न अध्यक्षले खासै चासो देखाएनन् ।

 

अबको बाटो के ?

 

महासंघको अबको राजनीति फेरी चण्डीराज ढकाल वरिपरी घुम्ने देखिएको छ । सधै चण्डीको साथले महासंघमा स्थापित हुन सकिन्छ भन्ने सोच भएका केही उद्यमी व्यवसायीकै कारण चण्डीराज ढकाल महासंघमा हावी भएका हुन् ।

 

पछिल्लो समय ढकाललाई चिडाएकै कारण भाष्करराज राजकर्णिकारले महासंघमा अध्यक्ष पाउन सकेनन् भने अन्य सबै अध्यक्ष भएकाहरु ढकालसँग हात मिलाएरै भएका हुन् ।

 

यस्तोमा शेखर गोल्छाले ढकालसँग कस्तो सम्बन्ध बनाउलान भन्ने विषयले धेरै कुरा निर्धारण गर्नेछ । उनिसँग कि त ढकालसँग मिलेर अगाडि जाने वा ढकाललाई उनको एजेन्डामा हराएर नयाँ तरिकाले विधान संसोधन गर्ने । यी दुई मध्य उनले कुन बाटो रोज्छन् त्यो भने हेर्न बाँकी नै छ ।

 

‘ढकाल गाली गलौज र तल्लो स्तरमै झरेर महासंघ भित्र हस्तक्षप गर्छन् यस्तोमा उनीसँग उल्झन कोही चाहँदैन’ महासंघ एक सदस्यले चाणक्य पोष्टसँग भने ।

 

यसरी हेर्दा अबको दुई महिना महासंघ भित्र ढकाल र गोल्छाबीचको टकराव देखिने छ भने त्यसले महासंघको अबको भविष्यपनि निर्धारण गर्नेछ ।

कोका–कोला क्यापमा कार अफर Read Previous

कोका–कोला क्यापमा कार अफर

८ रुपैयाँसम्म महंगो हुँदै दूध, लागत घटाउन प्रयास नै भएन Read Next

८ रुपैयाँसम्म महंगो हुँदै दूध, लागत घटाउन प्रयास नै भएन