खाद्यान्न र ग्यासमा २०% छुट लागू, अब ग्यास ११२० रुपैयाँमै पाइने, कुन खाद्यान्न कतिमा ?

काठमाडौं । सरकारले निषेधाज्ञाा अवधिभर खाद्य मूल्यमा २० प्रतिशत छुट दिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको विक्री मूल्यमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको हो ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले यो छुट आजबाट दिन लागेको हो । खाद्य कम्पनीले बेच्ने चामलमा पनि २० प्रतिशत छुट पाइनेछ ।

 

छुट सुविधामा पाइने चामल प्रतिपरिवार ३० किलोको बोरा र कर्णालीको सिमी २ किलो किन्न पाइने छ । छुट सुविधा पाउन पहिचान खुल्ने कागज उपलब्ध गराउनु पर्नेछ ।

 

खाद्यले काठमाडौंमा थापाथली र रामशाहपथस्थित विक्री कक्ष, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सुर्यविनायक विक्री कक्ष तथा अन्य जिल्लामा कम्पनीका कार्यालय र विक्री कक्षबाट सामाग्री उपलब्ध गराउने छ ।

 

खाद्य कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपानेले निषेधाज्ञ अवधिका लागि सो छुट व्यवस्था गरिएको बताइन् । यो छुटमा ८० प्रतिशत सरकारले बेहोर्ने छ भने २० प्रतिशत सम्बन्धित कम्पनीले मूल्य बेहोर्ने जनाइएको छ ।

 

साल्ट ट्रेडिङले बेच्ने खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १ हजार १२० रूपैयाँमा पाइने भएको छ । साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीका अनुसार साल्ट ट्रेडिङले वितरण गर्ने छुट ग्यास सम्बन्धित डिपोहरुबाट मात्र खरिद गर्न पाइने छ ।

 

विक्री कक्ष भक्तपुर, जडिबुटी, जाउलाखेल, कालिमाटी, सतुङगलमा रहेको छ । उपत्यका बाहिर नारायणघाटमा पनि यसको विक्री कक्ष रहेको छ ।

 

साल्ट ट्रेडिङसँग हाल ४० हजार भन्दा बढी सिलिन्डर रहेको छ । विपदको बेला मात्र एसटिसि ग्यासलाई महत्व दिने भएकाले स्टक धेरै बाँकी रहेको उनले बताए ।

 

‘विपदको बेला नाका बन्द हुँदा एसटिसिको ग्यास धेरै विक्री भएको थियो, त्यसपछि अहिले फेरी माग भएको छ, माग अनुसार हामीले उपत्यकामा पुग्ने ग्यास वितरण गर्न सक्छौँ,’ राजभण्डारीले चाणक्य पोष्टसँग भने ।

 

यस्तै पिठो २ केजी किन्दा प्रतिकेजी ४४ रूपैयाँ, चिनी २ केजी किन्दा प्रतिकेजी ६३ रूपैयाँ २० पैसा, नुन २ केजी किन्दा प्रतिकेजी १६ रूपैयाँ र भटमासको तेल प्रतिलिटर १८८ रूपैयाँमा पाइने छ ।

 

साल्ट ट्रेडिङको छुटमा ८० प्रतिशत सरकारले र २० प्रतिशत सम्बन्धित कार्यालयले मूल्य बेहोर्ने राजभण्डारीले बताए ।

असारदेखि मेलम्चीको पानी वितरण बन्द हुने, यस्तो छ कारण Read Previous

असारदेखि मेलम्चीको पानी वितरण बन्द हुने, यस्तो छ कारण

आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइयो, के-के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? (सूचीसहित) Read Next

आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइयो, के-के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? (सूचीसहित)