काठमाडौं । सरकारले जेठ १४ गतेदेखि २० गतेसम्म जारी गरेको कडाइ गरेको निषेधाज्ञलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निःशुल्क डेलिभरी शुरु गरेको छ ।
खाद्य कम्पनीले २ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मको सामग्री किन्ने उपभोक्ताका लागि निःशुलक डेलिभरी व्यवस्था गरेको हो । कम्पनीले https://www.nepalfood.gov.np/ मार्फत काठमडौं उपत्यकाको चक्रपथ भित्र र बाहिर १ किलोमिटरसम्मको मोटरबाटो भएको स्थानमा दैनिक निःशुल्क खाद्य वस्तु पुर्याउने छ ।
खाद्य कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपानेका अनुसार खाद्य कम्पनीले दाल, चामल, तेल, नुन लगायतका अत्यावश्यक खाद्य वस्तुको अभाव हुन नदिन होम डेलिभर वयवस्था मिलाएको छ ।
उपभोक्ताको अर्डरका आधारमा एक हप्ताभर मोबाइल गाडीबाट खाद्य वस्तुको डेलिभरी हुने भएको हो ।खाद्य कम्पनीसँग पर्याप्त मात्रामा दाल र चामल मौज्दात रहेको उनको भनाइ छ ।
हाल खाद्य कमपनीसँग २८ हजार मेट्रिकटन हाराहारीमा धान, चामल, गहुँ मौज्दात रहेको छ । थप ५ हजार मेट्रिकटन चामल कम्पनीले खरिदको क्रममा रहेको उनले बताइन् ।
दाल, चेल, नुन लगायतका विषयमा पनि २/३ महिना निषेधाज्ञ भए पनि अभाव हुने अवस्था सृजना नहुने उनको भनाइ छ । ‘हामीसँग चामल, नुन पर्याप्त छ, दाल, तेल पनि नभएको हैन छ, २/४ महिना निषेधाज्ञ भए पनि भोकै वस्ने अवस्था आउदैन,’ न्यौपानेले चाणक्य पोष्टसँग भनिन् ‘हामीले दाल, तेल धेरै नभएकोले खटाएर विक्री गरेका छौँ ।’
सरकारले १ साताका लागि किराना पसल तथा डिपार्टमेन्ट स्टोर पनि बन्द गर्न आदेश जारी गरे पछि उपभोक्तामा खाद्यवस्तुको अभाव हुन सक्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले होम डेलिभरी गर्ने भएको हो ।