काठमाडौं । विकास बैंक र फाइनान्स समूह चम्किँदा सेयर बजारले ऐतिहासिक तेहोरो रेकर्ड बनाएको छ । तीव्र उतरचढाव देखिएको बजारमा आज एकैदिन सर्वाधिक उच्च विन्दु, सर्वाधिक कारोबार र सर्वाधिक कित्ता सेयर किनबेचको तेहोरो कीर्तिमान बनेका छन् ।
नेप्सेले सर्वाधिक २८२७ विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २८२५ विन्दु नाछेको यो इतिहासमै पहिलोपटक हो । यसअघि गत मंगलबार हालसम्मकै उच्च २८२३ विन्दु चुमेको थियो ।
यस्तै, आज एकैदिन १७ अर्ब २ करोडको कारोबार हुँदै नयाँ कीर्तिमान रचेको छ । एकैदिन यति धेरै कारोबार भएको इतिहासमै पहिलोपटक हो । यसअघि गत बिहीबार ९जेठ १३ गते० १४ अर्ब ७६ करोडको सर्वाधिक कारोबार भएको छ ।
यस्तै, सूचक र कारोबार रकमा नयाँ रेकर्ड बनाएको दिन सर्वाधिक कित्ता कारोबारको पनि रेकर्ड बनेको छ । आज एकैदिन ४ करोड २६ लाख कित्ता सेयर किनबेच भएको छ । यो हालसम्मकै धेरै हो ।
आज सेयर बजार मापक सूचक नेप्से १२.५४ अंकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको १७ अर्ब २ करोड ८४ लाख ३२ हजार ४४५ रुपैयाँ बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियालीे छाएको छ भने ६ समूहको सूचक राताम्मे भएको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै २५५.२५ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ७४.४० अंकले घटेको छ ।
आज कारोबारमा आएका २१९ कम्पनीमध्ये १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ४७ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण काबेली ४६ करोड र युनाइटेड मोदी हाइड्रोपावर ४१ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज १५ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । ज्योति विकास बैंकका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
यस्तै, आँखुखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, साइन रेसुंगा, सोल्टी होटल, ओरेन्टल होटल, खानीखोला, जोशी, दिव्यश्व्री हाइड्रोपावर, समृद्धि फाइनान्स, युनियन हाइड्रोपावर, सांग्रिला विकास बैंक र सिन्धु विकास बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज वरुण हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ६.५६ प्रतिशत गुमाएका छन् ।