काठमाडौं। हाल संचालनमा रहेकामध्ये झन्डै आधा सार्वजनिक संस्थान (सरकारी कम्पनी) घाटामा रहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।
अहिले ४४ वटा सार्वजनिक संस्थान संचालनमा रहेका छन् । तीमध्ये २४ वटा संस्थान नाफामा छन् भने १८ वटा संस्थान घाटामा छ । २ वटा संस्थानको कारोबार भने शून्य छ ।
गत वर्ष २६ वटा नाफामा थिए भने १३ वटा घाटामा थिए । ५ संस्थानको कारोबार भने शून्य थियो । औसतमा सार्वजनिक संस्थानहरुको नाफा अघिल्लो वर्षको तुलनामा १.२१ प्रतिशतले कमी आएको छ । चालू आवमा सरकारी कम्पनीहरुले कुल ४८ अर्ब २९ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो गतवर्षको तुलनामा करिब ४८ करोड थोरै हो । गत वर्ष संस्थानहरुले कुल ४८ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ नाफा गरेका थिए । गत वर्ष संस्थानहरुको खुद नाफा १२.३६ प्रतिशतले बढेको थियो।
कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण समग्र अर्थतन्त्र नै प्रभावित भएकाले संस्थानहरुको कार्यसम्पादनमा कमी आउँदा घाटा बढेको अर्थ मन्त्रालयले जनाएको छ।
नाफा घटे पनि लाभांश ४९ प्रतिशतले बढ्यो
चालू आवमा सार्वजनिक संस्थानहरुको नाफा घटे पनि लाभांश भुक्तानीदर भने बढेको छ । संस्थानहरुको लाभांश यस वर्ष ४८.८७ प्रतिशतले बढेको छ।
चालू आवमा सार्वजनिक संस्थानहरुबाट कुल १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ लाभांश भुक्तानी गरेका छन् । यो गत वर्षको तुलनामा ४ अर्ब ६२ करोड बढी हो । गत वर्ष संस्थानहरुले ९ अर्ब ४७ करोड ९ लाख रुपैयाँ लाभांश वितरण गरेका थिए ।
गत वर्षको तुलनामा नाफा घटे पनि संस्थानहरुले गतवर्षको तुलनामा ४९ प्रतिशत बढी लाभांश भुक्तिानी गरेका हुन् ।