काठमाडौं। सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा निर्धारण गरेको आर्थिक वृद्धि लक्ष्य हासिल नहुने बताएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालू आर्थिक वर्ष संशोधित आर्थिक वृद्धिसमेत हासिल नहुने बताएका हुन् ।
सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको थियो । लक्ष्य हासिल नहुने भएपछि संशोधन गर्दै ४.०१ प्रतिशतको लक्ष्य निर्धारण गरिएकोमा त्यो पनि पूरा नहुने अर्थमन्त्री पौडेलले बताएका हुन् ।
कोरोना महामारीको दोस्रो लहरका कारण अनुमानित आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतिपूर्ण रहेको उनले बताए ।
यद्यपि उनले कोभिड महामारीको प्रतिकूलावस्थामा पनि अधिकांश समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहेको जानकारी दिए ।
राष्ट्रिय लगानीमा विस्तार भएको, वित्तीय पहुँच, पूँजी बजार र बीमाको दायरा फराकिलो भएको, समग्र शोधनान्तर स्थिति बचतमा रहेको तथा विप्रेषण आप्रवाह र विदेशी विनिमय सञ्चिति वृद्धि भएको अर्थमन्त्रीले बताए।