मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श शुरु

काठमाडौं । मिदासले ‘मेरो डाक्टर’ एपमार्फत अनलाइन भिडियो परामर्श सेवा शुरू गरेको छ । कोभिड–१९ महामारीका कारण जारी निषेधाज्ञाले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामी आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै यस्तो सेवा शुरू गरेको जनाइएको छ ।

 

समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ ।

 

नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुनेहुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज्स् प्रालिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताए ।

 

जारी कोभिड–१९, को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एप मार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाईएको छ ।

 

यसबाट स्वयम् विरामीहरुको समय र पैसा दुवैको बचत भइ अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ ।

 

कोभिड महामारीको समयमा मात्र होइन, विशेषज्ञ चिकित्सकसँग एवम् अस्पतालसम्म आइ परामर्श लिन हामीलाई सामान्य समयमा समेत विविध खालका कठिनाई छन् । भौगोलिक विकटता एवम् विरामी अस्पतालसम्म जाने अनुकूल अवस्था कुरेरै बस्ने हाम्रो सामान्य प्रचलन छ । यस्तो अवस्थाबाट मुक्तिका लागि र आफ्नो रोगलाई थप बल्झिन नदिन यस्तो अनलाइन भिडियो सेवा उपयोगी हुनेछ ।

 

सामान्यतया रोगले च्यापेर थला नपरीकन अस्पताल वा डाक्टरको सम्पर्कमा जान नचाहाने हामी मध्ये अधिकांशलाई यो अनलाइन भिडियो परामर्श अत्यन्तै उपयोगी सिद्व हुनेछ । सामान्य रोगलाई अनलाइन परामर्शबाट नै उपचार गर्न र जटिल बन्न नदिन र उपचार सम्भव हुँदै अस्पताल वा विशेषज्ञ चिकित्सकहरूको सम्पर्कमा जान प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो अनलाइन भिडियो परामर्श सेवाको परिकल्पना गरिएको हो ।

 

जारी कोभिड-१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सबै यस अनलाइन भिडियो परामर्शमा निःशुल्क हुनेगरी व्यवस्था मिलाइएको छ ।

जेठ १८ देखि चीनसहित ३ देशमा नियमित उडान हुने Read Previous

जेठ १८ देखि चीनसहित ३ देशमा नियमित उडान हुने

संशोधित आर्थिक वृद्धि लक्ष्य पनि हासिल हुन गाह्रो छ : अर्थमन्त्री पौडेल Read Next

संशोधित आर्थिक वृद्धि लक्ष्य पनि हासिल हुन गाह्रो छ : अर्थमन्त्री पौडेल