काठमाडौं । नेपाली जनता अहिले आत्तिएका छन् । सधैंको जीविकाको तनावमा रहने सामान्य जनतालाई अहिले कारोना महामारीले नराम्रोसँग थला पारेको छ । त्यसमाथी फेरि काठमाडौं उपत्यकाका सामान्य जनता प्रशासनले अनौठो खाले उर्दी जारी गरे पछि उनीहरु फेरि तिल्मिलाएका छन् ।
मानिसहरुले अहिले देशमा के भएको हो र प्रशासनले जारी गरेको नयाँ उर्दीको अर्थ के हो भनेर बुझ्न सकेका छैनन् ।
काठमाडौं उपत्यकाको प्रशासनले अबको एक हप्तासम्म खाद्यान्न खरिदमा समेत बन्देज लगाएको छ । उपत्यकाका ३ जना सीडीओहरुले (प्रमुख जिल्ला अधिकारी) अबको एक हप्तासम्म पुग्ने खाद्यान्न अहिल्यै किन्न र आगामी एक हप्तासम्म घरभित्रै ‘आराम’ले बस्न भनेपछि उनीहरु जसोतसो ऋणधन गरेर खाद्यान्न किन्न बिहानैदेखि लाममा लागेका थिए ।

भक्तपुर जिल्लाको मनोहरा प्लानिङको तारा ट्रेडर्समा बिहान ६ बजेदेखि नै मानिसहरु लाम लागेका थिए । एकाध रुपैयाँ सस्तोमा खाद्यान्न बेच्ने उक्त पसलमा बिहानैदेखि सामान्य जनताहरु लाममा लागेका थिए । केही रुपैयाँ सस्तोमा पाइने हुनाले मानिसहरु ज्यान धरापमै राखेर भए पनि त्यहाँ लाम लागेका हुन् ।
लामबिहान ६ बजेदेखि १० बजेसम्म उस्तै थियो । एउटा सानो पसलमा करिब २०–२५ जना सर्वसाधारण निरन्तर लाम लागेकै थिए । तर, करिब १० बजेपछि भने अनौठो र कुरुप दृश्य देखापर्यो । २ जना प्रहरी मोटरसाइकलमा आए र तुरुन्तै पसल बन्द गर्न निर्देशन दिए ।
एक हप्ताको लागि पुग्ने खाद्यान्न किन भनेर आफैं भन्ने र त्यही अनुसार भोली देखि पसल बन्द हुने हुँदा सामान किन्न लाममा बसेका सर्वसाधारणलाई ती २ जना प्रहरीले एकाएक धपाए ।

मानिसहरु तितरवितर भए । केही महिलाहरुले दुई हात जोडेर प्रहरीहरुलाई खाद्यान्न किन्न दिन पुकारे । ती प्रहरीले महिलाहरुको पुकार सुनेनन् । अन्ततः लामो सुस्केरा हाल्दै ती महिलाहरु हिँडे ।
त्यसपछि ठूलो पराक्रम गरे झैं ती दुई प्रहरी मोटरसाइकलमा हुँइकिए । केही पुरुषहरु भने पसलको सटर २–४ इन्च खोल्न लगाएर केही सामानहरु किन्ने प्रयास गर्न थाले ।
‘यस्तो बेला भीड नियन्त्रण गर्न झन सजिलै सामान किन्न सक्नुपर्ने व्यवस्था गर्नुपर्थ्यो,’ खाद्यान्न किन्न आएकी एक गृहणीले भनिन्, ‘उल्टो सरकारले हप्तादिनलाई पुग्ने खाद्यान्न एकैपटक किन भनेर भीड गरायो । यसले कोरोना नियन्त्रण हुने होइन उल्टो फैलने सम्भावना हुन्छ ।

आफैं एक हप्ताको लागि खाद्यन्न अहिल्यै किन्नु भनेर उर्दी जारी गर्ने र किन्न जम्मा भएका जनतालाई चोरलाइ लखेटे झैं लखेट्ने कुरुप दृश्य त्यहाँ देखियो ।
खुल्लमखुल्ला मन्त्रीले करोडौं रुपैयाँ घुस माग्ने, प्रधान्मन्त्रीले त्यसैगरी संविधान मिच्ने र उनी निकटका सांसदहरु आफैं अर्को पार्टीको सांसद ‘अपहरण’ गर्ने देशमा सर्वसाधारणले भने आफ्नो पैसाले खाद्यान्न समेत चोरी गरेझैं लुकिछिपी गर्नुपर्ने दृश्य त्यहाँ देखियो ।
यसको मतलब अहिलेको नेपाल नेता, तीनका कार्यकर्ता र केही बिचौलियाको मात्र पेवा रहेको र सर्वसाधारण भने तीनको लागि राज गर्ने आधार तयार पार्दिने र घुस खानको लागि कर मात्र तिदिर्ने निरीह प्राणी रहेको तथ्य फेरि एकपटक पुष्टि भएको छ ।