काठमाडौं । राष्ट्रिय बीमा कम्पनी नेपाली सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी बनेको छ ।
कम्पनी युनिलिभरलाई उछिन्दै सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनी बनेको हो । कम्पनीको सेयर मूल्य आज ठ्याक्कै १० प्रतिशत (प्रतिकित्ता २१४९ रुपैयाँ)ले बढेर २३ हजार ६४८ रुपैयाँ पुगेको छ ।
विगत १ दशकभन्दा बढी समयदेखि सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनीको रुपमा रहेको युनिलिभरलाई बीमा कम्पनीले पछि पारेको हो । आज युनिलिभरको सेयर मूल्य प्रतिकित्ता २० हजार ४०० रुपैयाँ छ ।
हाल कम्पनीको चुक्ता पूँजी साढे २६ करोड रहेको छ । बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी १ अर्ब पुर्याउन कम्पनीले आफ्नो चुक्ता पूँजी झन्डै ४ गुणाले वृद्धि गर्नुपर्ने हुन्छ ।
चुक्ता पूँजी बढाउन कम्पनीले बम्पर लाभांश दिने हल्ला चलेसँगै कम्पनीको सेयर मूल्य उचालिएको हो । पछिल्लो दुईसातामै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार रुपैयाँले बढेको छ ।