मनोरञ्जन, विज्ञापन र भूमि कर संकलनका समस्या हटाउन निजी क्षेत्रको माग

काठमाडौं । निजी क्षेत्रका तीन ठूला छाता संगठननेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स स्थानीय तहमार्फत कार्यान्वयन हुने कर संकलनलाई प्रभावकारी र व्यवस्थित बनाउन माग गरेका छन्।

 

महासंघका अध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष सतिश मोर र चेम्बरका अध्यक्ष राजेन्द्र मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश र स्थानीय तहबाट उठाउने मनोरञ्जन कर, विज्ञापन कर, भूमि कर जस्ता प्रत्यक्ष राजस्व संकलनका क्षेत्रमा अझै पनि समस्या रहेकाले त्यसलाई हटाउन माग गरिएको छ।

 

यसैगरी, स्थानीय तहबाट कार्यान्वयन हुने यस्ता करको दरमा एकरूपता हुनुपर्ने, स्थानीय तहहरूले ठेक्कामार्फत नभइ आफैँले कर संकलन गर्नुपर्ने, कर संकलन गर्ने अधिकारीलाई करको विषयमा तालिम प्रदान गर्नुपर्ने आवश्यकता रहेकाले त्यसको व्यवस्थापन गर्न तीनै तहका सरकारहरूलाई अनुरोध गरेका छन् ।

 

हरेक स्थानीय तहका लागि कर संकलनका लागि कोड उपलब्ध गराउने र त्यसैको आधारमा बैंक खातामा जम्मा गराउने व्यवस्था गर्न माग गरेका छन् । यसरी सम्बन्धित स्थानीय तहको खातामा जम्मा भएको रकम कानुनअनुसार प्रदेशहरूमा बाँडफाँट गर्नु उपयुक्त हुन्छ । कर संकलनलाई पारदर्शी बनाउन एकद्वार प्रणलीबाट संकलनको व्यवस्था मिलाउनुपर्छ ।

 

स्थानीय तहले कार्यान्वयन गर्ने करको दरमा वैज्ञानिक आधार र एकरूपता नभएको अवस्था छ । स्थानीय तहहरूका तजबिजी अधिकारका कारण व्यवसायीलाई अनावश्यक कर दायित्व सिर्जना गर्ने अवस्था विद्यमान रहेको छ भने प्रत्यक्षरूपमा हुने कर संकलन ठेक्कामा दिँदा स्थानीय÷प्रदेश सरकारहरूले पर्याप्त कर प्राप्त गर्न नसकेको स्थिति छ । विना प्रतिस्पर्धा नियुक्त गरिएका एजेन्सीले उद्योगी÷व्यवसायीलाई धम्क्याउने, जबरजस्ती कर संकलन गर्न खोज्ने अवस्था रहेको छ ।

 

संविधान र कानुनले विज्ञापन कर संकलनको अधिकार स्थानीय तह र प्रदेश सरकारलाई दिएको अवस्थामा यससँग सम्बन्धित समस्या समाधानका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पनि पहल गर्नुपर्दछ । उद्योगी÷व्यवसायीलाई दोहोरो एवं अनावश्यक करको भार नथपिने र सरकारले पनि कानुनबमोजिम वास्तविक कर प्राप्तिको अवस्था सुनिश्चित गर्न सम्बन्धित सबै सरोकारवालाहरुमा अनुरोध गरेका छन् ।

सेयर बजार परिपक्व बनाउने राष्ट्र बैंकको कदम : 'लङट्रम इन्भेष्टर'लाई फाइदा, ट्रेडरलाई झड्का Read Previous

सेयर बजार परिपक्व बनाउने राष्ट्र बैंकको कदम : 'लङट्रम इन्भेष्टर'लाई फाइदा, ट्रेडरलाई झड्का

नागढुङ्गा सुरुङमार्ग निर्माणमा खटिएका ३०० बढी कामदार घर फर्किए, काम सुस्त हुँदै Read Next

नागढुङ्गा सुरुङमार्ग निर्माणमा खटिएका ३०० बढी कामदार घर फर्किए, काम सुस्त हुँदै