काठमाडौं । हिजो (मंगलबार) नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेर बैंक तथा वित्तीय संस्थाहरूले १ वर्ष भन्दा कम अवधिको लागि सेयर बजार मार्फत सेयर खरिद विक्री गर्न रोक लगाएको छ । साथै लघुवित्तको साधारण सेयर खरिदमा रोक लगाएको छ भने यस अघि खरिद गरेको सेयर २०७८ पुस सम्म विक्री गरिसक्नुपर्ने बताएको छ ।
यो निर्देशन आएसँगै यसले बढ्दो सेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने चासो सर्वत्र व्याप्त भएको छ ।
यो आर्थिक वर्षमा नेपालको सेयर बजार निरन्तर बुलिस ट्रेण्डमा रहेको छ भने नेप्से परिसूचकले अहिलेसम्मकै उच्च २८०० अंक पार गरिसकेको छ । कारोबार रकममा पनि दैनिक उछाल आइरहेको छ । दैनिक कारोबारले पनि १३ अर्ब पार गरिसकेको अवस्था छ ।
यो समग्र परिस्थितिमा राष्ट्र बैंकले जारी गरेको यो नयाँ परिपत्रले सेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने चासो आम लगानीकर्तामा बढ्नु स्वभाविक हो ।
अहिले निषेधाज्ञाको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीको क्षेत्रहरूमा संकुचन आएको छ । त्यसैले उनीहरू यो समयमा सेयर बजार तर्फनै अल्पकालीन रुपले आकर्षित भएको तथ्य बुझ्न गाह्रो छैन । त्यसैले कारोबार रकममा दैनिक रेर्कड कायम भइरहेको छ ।
अब कम्तीमा वर्षदिनको लागि मात्र सेयर बजारबाट सेयर खरिद गर्न पाउने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाहरूको सेयर बजारमा थप लगानी नहुने देखिएको छ । यसले दैनिक कारोबारमा तत्काल नै केही प्रभाव पर्ने देखिन्छ ।
पूँजीगत लाभको लक्ष्यका साथ छोटो समयको लागि लगानी गर्न नपाउने भएपछि हाइड्रो, ननलाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स जस्ता क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले लगानी नगर्ने देखिएको छ ।
यो क्षेत्रका कम्पनीहरूको ‘डिभिडेन्ड यिल्ड’ कम हुने हुँदा यी कम्पनीहरूमा लगानी गर्नुको प्रमुख उद्देश्य कम्पनीको लाभांश भन्दा पनि पूँजीगत लाभ नै हुँदै आएको छ । अबको अवस्थमा भने छोटो समयको लागि ‘डिभिडेन्ड यिल्ड’ कम भएका कम्पनीहरूमा बैंकहरूले लगानी नगर्ने देखिएको छ ।
यसको मतलब कम आम्दानी गर्ने र थोरै लाभांश दिने कम्पनीहरूको मागमा कमी आउन सक्छ भने आपुर्ती बढ्न सक्छ । यसको सोझो प्रभाव सेयर कारोबारीलाई पर्ने देखिएको छ ।
बजारमा विविध हल्ला फैलाएर अत्यन्तै खराब व्यवसायीक हैसियत भएका ‘झण्डु’ भनिने कम्पनीहरूमा उछलकुद गर्ने कारोबारीहरूलाई यसको केही प्रभाव पर्ने देखिन्छ ।
तर ‘डिभिडेन्ड यिल्ड’ राम्रो भएका र दीर्घकालीन रुपमा लगानी गर्न मिल्ने राम्रा कम्पनीहरूमा भने बैंकहरूले अझै लगानी गर्न सक्ने हुँदा त्यसको माग र आपूर्तिमा भने उति फरक नपर्ने नै देखिन्छ । यसको मतलब अहिलेको यो परिपत्रले लगानीकर्तालाई खासै फरक नपर्ने तर दैनिक कारोबारीलाई भने केही प्रभाव पर्ने देखिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको हकमा चाहिँ निषेधाज्ञाको समयमा लगानीका अन्य क्षेत्रहरू संकुचिक भएको समयमा सेयर कारोबार बाटै नाफा कमाइरहेको बेला उनीहरूको अबको नाफामा भने केही कमी आउन सक्ने देखिएको छ ।