नागढुङ्गा सुरुङमार्ग निर्माणमा खटिएका ३०० बढी कामदार घर फर्किए, काम सुस्त हुँदै

काठमाडौं । नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माणस्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प)मा राखेर अरू नियमित काम गरिरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

 

सङ्क्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै निर्माणस्थलमा रहेको छुट्टै क्याम्पमा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। उनले भने, “अस्पताल जानुभएका व्यक्ति पनि ठीक भइसक्नुभएको छ ।”

 

नेपालमा दोस्रो भेरियन्टसहितको सङ्क्रमण शुरु भएसँगै जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकामा तीन साता पहिले निषेधाज्ञा लागू गरेको थियो ।

 

निषेधाज्ञामा पनि क्याम्पमा बसेर गर्न सकिने विकास निर्माणलाई निरन्तरता दिइने सरकारको निर्णयका आधारमा सो सुरुङमार्गको निर्माण सामान्य अवस्थामा जसरी नै पुनः सञ्चालन थियो ।

 

देशभर सङ्क्रमण फैलिरहेकाले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्माण अघि बढाउँदै आइएको आयोजनाले जनाएको छ । आयोजनाले क्याम्पभित्र कुनै व्यक्तिमा सङ्क्रमण देखिइहालेमा तुरुन्त अरूबाट छुट्टाएर राखिने व्यवस्था मिलाएको छ । उनले भने, “सङ्क्रमित भएका व्यक्तिको स्वास्थ्यमा समस्या आइहालेमा अस्पताल लगिनेछ ।”

 

क्याम्पभित्र सङ्क्रमित देखिएसँगै यहाँ कार्यरत कामदार निर्माणस्थल छाड्न थालेको आयोजनाले जनाएको छ । अघिल्लो सातासम्म ६०० भन्दा बढी कार्यरत रहेकामा अहिले यहाँ ३०० छन् । झण्डै आधा कामदार निर्माणस्थल छाडिसकेको प्रमुख शाक्यले बताए । तत्काल भएकै कामदारबाट निर्माणलाई निरन्तरता दिइने उनले बताए ।

 

निर्माणस्थलमा सङ्क्रमण नियन्त्रण गर्न सकियो भने यही रूपमा काम अघि बढाइने आयोजनाले जनाएको छ । अझै फैलिएर गयो भने निर्माणस्थल बन्द गरिने प्रमुख शाक्यले बताए। अहिलेसम्म निर्माणस्थलभित्र व्यवस्थापन गर्न सकिने अवस्था भएकाले काम भइरहेको उनले बताए।

 

अबको केही समयसम्म कम सङ्ख्यामा कामदार राखेर काम गरिनेछ । यो समयमा ‘पर्ख र हेर’ गरेर त्यसपछि अवस्था हेरेर अघि बढिने उनले बताए। काम प्रगतिका नाममा स्वास्थ्य सुरक्षासँग चुनौती नगरिने उनको भनाइ छ । उनले भने, “अझै धेरै सङ्ख्यामा सङ्क्रमित हुँदा काम गर्न रोकिनेछ ।”

 

अहिले आयोजनाले कुनै पनि व्यक्तिलाई सङ्क्रमणको शङ्का लाग्नासाथ कोभिड जाँच गराउने गरेको छ । सुपरीवेक्षण गर्नेलाई भित्रै बस्ने व्यवस्था मिलाइएको प्रमुख शाक्यले बताए । आवश्यक सङ्ख्यामा जनशक्ति भित्रै रहेकाले सचेत भएर काम गरिरहेको उनले बताए । कामदारको मनमा त्रास भएकै कारण आधाले काम छाडेर फर्किसकेका छन् ।

 

पछिल्लो अवस्थामा जतिसक्दो काम अघि बढाएर आठ–१० दिन पछि निर्माणस्थलको अवस्था हेरेर निर्णय गरिने उनले बताए । उनका अनुसार निर्माणस्थलको स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिएको छ ।

 

सङ्क्रमणकै कारण अहिले आयोजनाको पूर्वतर्फ अवरोध पुगेको आयोजनाले जनाएको छ । सुरुङमार्गमा काम भने भइरहेको छ । मुख्य सुरुङमा अहिले पनि दुई चरणमा गरी चौबिसै घण्टा काम भइरहेको प्रमुख शाक्यले बताए ।

 

सहायक सुरुङमा दिनमा काम भए पनि रातको समयमा काम रोकिएको छ । पूर्वपट्टि पहुँच मार्ग बनाउने काम रोकिएको र पश्चिमतर्फ काम भइरहेको आयोजनाले जनाएको छ ।

 

जापान सरकारको ‘सफ्ट लोन’ मा ४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ ।

 

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङ्गा र माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत स्टल हुने बताइएको छ ।

मनोरञ्जन, विज्ञापन र भूमि कर संकलनका समस्या हटाउन निजी क्षेत्रको माग Read Previous

मनोरञ्जन, विज्ञापन र भूमि कर संकलनका समस्या हटाउन निजी क्षेत्रको माग

विभिन्न अस्पताललाई प्राइम बैंकले दियो अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री Read Next

विभिन्न अस्पताललाई प्राइम बैंकले दियो अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री