बेइजिङ । कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको छ ।
कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै १ करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ ।
विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ । चीनले आफ्नै देशका सिनोफार्म समेतका कम्पनीले उत्पादन गरेका खोपहरु लगाइरहेको छ ।
बीबीसीका अनुसार विश्वभर करिब १ अर्ब ६० करोड डोज खोप लगाइएको छ । यस्तै, संयुक्तराज्य अमेरिकामा करिब १६ करोड तथा भारतमा करिब १५ करोड व्यक्तिले कम्तीमा एक डोज खोप पाएका छन् ।
त्यस्तै, ब्राजिलमा ३ करोड ८२ लाख, संयुक्त अधिराज्यमा ३ करोड ७५ लाख, जर्मनीमा तीन करोड ३२ लाख, फ्रान्समा २ करोड २१ लाख, इटालीमा २ करोड तथा क्यानडामा १ करोड ८७ लाखले खोप लिएका छन् ।