तामाकोशीको सुरुङमा पुनः पानी भर्न शुरु
चाणक्य पोष्ट
प्रकाशित : 11:58 am, सोमबार, जेठ १०, २०७८

काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पुनः पानी भर्न शुरु गरिने भएको छ ।

 

वैशाख १६ गतेदेखि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको  भए पनि परीक्षणका क्रममा मुख्य पाइपसँग जडान गरिएका दुईवटा मर्मती–ढक्कनबाट पानी चुहिएको थियो । पानी चुहिएको स्थानमा मर्मत गरी आजदेखि पुनः परीक्षण शुरु गर्न लागिएको आयोजनाले जनाएको छ ।

 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोना र केही प्राविधिक जटिलताका कारण आयोजनाको काममा ढिलाइ भएको हो ।

 

सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भको प्राविधिक परीक्षण गरिने जनाइएको छ ।

 

मुख्य निर्माणअन्तर्गत बाँधरइन्टेक, मुख्य सुरुङ, विद्युत् गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्र्याउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

 

सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत्गृहमा जडान गरिएका ६/६ वटा टर्वाइन र जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । सोही क्रममा पहिलो युनिटबाट जेठ मसान्तसम्म विद्युत् उत्पादन शुरु हुने जनाइएको छ ।

 

चालू आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन गरिनेछ । आयोजनामा ७६र७६ मेगावाटका ६ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ ।

 

आयोजना ढिलाइ हुनका कारण

 

विसं २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट–२) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

 

यस्तै लट–२ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इञ्जिनीयरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रो मेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।

 

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर लगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको हो ।

 

२०६८ सालमा निर्माण शुरू गर्दा यस आयोजनाको लागत कुल ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । २०७७ पुसमा निर्माण सम्पन्न हुने प्रक्षेपणसहित यसको लागत ८३ अर्ब ७६ करोड प्रक्षेपण गरिएको थियो । यसमध्ये ५३ अर्ब लागत खर्च रहेको छ भने ३० अर्ब रुपैयाँ ब्याज रहेको छ ।