थप सिमेन्ट उद्योग खोल्न दिनुपर्ने राष्ट्र बैंकको निष्कर्ष

काठमाडौं। नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगमा थप लगानी आवश्यक रहेको औंल्याउँदै नयाँ उद्योग खोल्न दिनुपर्ने निष्कर्ष निकालेको छ।

 

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी: आर्थिक सामाजिक प्रभावको अध्ययन’ प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

 

नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने देखिएको उक्त प्रतिवेदनको निष्कर्ष छ ।

 

चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याउन समेत राष्ट्र बैंकको सुझाव छ । ‘नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने देखिन्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।

 

विदेशी लगानीका उद्योगको मुनाफा राम्रो

 

अध्ययनले विदेशी लगानी रहेको उद्योगहरुको मुनाफा तुलनात्मक रुपमा राम्रो रहेको देखाएको छ । सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको राष्ट्र बैंकले बताएको छ ।

 

विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून रहेको र मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको प्रतिवेदनमा उल्लेख छ । जसले स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने जनाइएको छ ।

 

नेपालमा हाल ३ प्रत्यक्ष विदेशी लगानी, २ सरकारी स्वामित्व र ५० निजी स्वामित्वका गरी कुल ५५ वटा सिमेन्ट उद्योग संचालनमा छन् । लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको बाहुल्यता रहेको छ ।

 

मागभन्दा उत्पादन क्षमता धेरै

 

हाल सिमेन्टको माग भन्दा उद्योगहरुको उत्पादन क्षमता धेरै रहेको अध्ययनले देखाएको छ । हाल संचालनमा रहेका ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन छ । जबकी आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको देखिन्छ।

 

आन्तरिक रूपमा यी उद्योगहरुबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ।

 

सरकारी उद्योगहरुको औसत क्षमता उपयोग ५०.१२ प्रतिशत, निजी क्षेत्रका उद्योगको ६३.७८ प्रतिशत र प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको ४५.८१ प्रतिशत छ । विदेशी लगानीमा सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

कालोबजारी गर्ने ३६ फार्मलाई कारबाही Read Previous

कालोबजारी गर्ने ३६ फार्मलाई कारबाही

नेपाल लाइफलाई उछिन्दै पुनर्बीमा बन्यो तेस्रो ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी Read Next

नेपाल लाइफलाई उछिन्दै पुनर्बीमा बन्यो तेस्रो ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी