काठमाडौं । भन्सार विभागले ‘कोभिड १९ को रोकथाम र उपचारसगँ सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८’ कार्यान्वयनमा ल्याएको छ ।
कोभिड–१९ नियन्त्रण र उपचारका लागि आवश्यक विभिन्न वस्तुको आयात सहजीकरणका लागि विभागले उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।
भन्सार ऐन २०६४ को दफा ९३ अनुसार विभागले उक्त कार्यविधि लागू गरेको जनाएको छ । नयाँ कार्याविधि लागू भएसँगै अब कोरोना रोकथामका लागि अत्यावश्यक वस्तहरु अक्सिजन सिलिण्डर, भेन्टिलेटर, लिक्वीड अक्सिजन, आइसीयू मनिटर, बेड, रेम्डिसिभिर लगायत २१ वस्तु सहजै आयात गर्न सक्नेछन् ।
पैठारीकर्ताले अत्यावश्यक सामान पैठारी गर्न नियमित प्रक्रियाअनुसार नै आवश्यक कागजातसहित त्यस्ता मालवस्तु उल्लेख गर्नुपर्ने भन्सार विभागले जनाएको छ ।
तर, प्रज्ञापनपत्रसाथ पेस गर्नुपर्ने कुनै कागजात तत्काल पेस गर्न नसकेमा त्यस्तो कागजात पछि पेस गर्ने सर्तमा भन्सार अधिकृतले यस्तो मालवस्तु जाँसपास गर्नसक्ने विभागले जनाएको छ ।
भन्सार अधिकृतले जाँचपास गर्दा अध्यावश्यक वस्तुलाई प्राथमिकता दिनुपर्ने कार्यविधिमा उल्लेख छ । यसको लागि भन्सार कार्यालय प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीसहित छुट्टै इकाइ खडा गरी कर्मचारी खटाउनुपर्ने उल्लेख छ ।
