काठमाडौं। आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंकहरुमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पहिलो स्थानमा रहेको छ ।
बैंकले सार्वजनिक गरेको गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ५ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ६७ करोडले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो।
बैंकले खुद व्याज आम्दानी मात्रै १० अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब ११ करोड रुपैयाँ थियो।
वाणिज्य बैंक अरु बैंकभन्दा निक्षेप संकलन र ऋण लगानीमा आक्रामक देखिएको छ। सर्वसारधाण तर्फको निक्षेप एक खर्ब ९० अर्ब रुपैयाँ संकलन गरि एक खर्ब ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १७ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो।
बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ७३ करोड रुपैयाँ जम्मा गरेको छ। बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँले बढेर ५९ रुपैयाँ पुगेको छ।
बैंकको पूँजीकोष अनुपात १३.२० प्रतिशत छ। खराव कर्जा ४.७५ प्रतिशतबाट ३.९० प्रतिशतमा झारेको छ। बैंकले आधार व्याजदर थप ६.२० प्रतिशतबाट ५.५० प्रतिशतमा झारेको छ।
बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ६१ करोड रुपैंयाँ रहेको छ । बैंकले जति कमाए पनि पूर्ण सरकारी स्वामित्वको भएकाले सर्वसाधारण लगानीकर्ताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’ जस्तै हो ।