दुधको मूल्यसँगै मिठाइको मूल्य बढ्ने संकेत, यस्ता छन् सबैभन्दा महङ्गा मिठाई

काठमाडौं । पछिल्लो समय बजारमा दुधको मूल्य बढ्ने हल्ला चलिरहेको छ । यससँगै दुग्ध डेरी एसोशिएसनले समेत दुधको मूल्य भदौबाट बढ्ने बताउँदै आएको छ । एसोशिएसनले भदौबाट प्रतिलिटर १० रुपैयाँ दुधमा मूल्य बढाउन सरकारसँग माग गर्दै आएको छ । यसको असर मिठाइमा समेत पर्ने देखिएको छ ।

 

सामान्यतः चाडपर्वमा मिठाइको प्रयोग बढि हुने गरेको छ । रक्षाबन्धन, तिज, बुबा–आमाको मुख हेर्ने दिन, तिहार लगायतका चाडपर्वमा मिठाइको प्रयोग बढि हुने नै भयो ।

 

यसरी चाडपर्व नजिकिदै गर्दा दुधको मूल्य वृद्धि भएमा मिठाइको मूल्य समेत समायोजन हुने देखिन्छ । गुलाब स्वीट्सका ब्यवस्थापक प्रेम थापा दुधको मूल्यमा अधिक वृद्धि देखिए मिठाइको मूल्य समेत बढ्न सक्ने बताउछन् ।

 

उनका अनुसार मिठाइमा धेरै मूल्य बढाउन नमिल्ने भए पनि सामान्य परिवर्तन आउन सक्ने छ ।  ‘दुधको मूल्य धेरै अन्तरले नै बढ्यो भने त बढाउनु पर्ने अवस्था सृजना हुन्छ तर, सामान्य मूल्य बढेकोले यसलाई असर गर्दैन, हामीले एकैचोटी ह्वात मूल्य बढाउन पनि मिल्दैन,’ थापाले चाणक्य पोष्टसँग भने ।

 

उनले गुलाब स्वीटस्को शाखा उपत्यकामा ११ वटा रहेको जानकारी दिए । ती शाखाहरुबाट दैनिक ४/५ लाख रुपैयाँ लगानीमा मिठाइ उत्पादन हुने गरेको छ । सबै शाखाबाट सामान्य दिनमा कुल ५/६ लाख रुपैयाँको हाराहारीमा कारोबार गर्ने छ । अन्य चाडवाड भन्दा तिहारको बेलामा दोब्बर व्यापार गर्ने गरेको उनले बताए । ५५ जना भन्दा बढि लाई रोजगार दिएको गुलाबले सुन्धारा शाखाबाट मात्र दैनिक १ लाख रुपैयाँको हाराहारीमा मिठाई विक्री गर्ने गरेको जानकारी दिए ।

 

रक्षा बन्धन विशेष तराइबासी र मारवाडी समुदायले मनाउने भएकाले दैनिकको तुलनामा थोरै बढि विक्री हुने गरे पनि तिहारमा जस्तो दोब्बर व्यापार भने नहुने उनले बताए । गुलाबमा ३ सय देखि ४ सय प्रकारका मिठाइहरु बन्ने गर्छन् । सुगर फ्री मिठाई सबैभन्दा महंगा मिठाइका लिस्टमा आउने गरेको थापाले जानकारी दिए ।

 

यस्तै संगम स्वीट्सका अनुसार दुधको मूल्य धेरै बढेमा मिठाइको मूल्यमा पनि फरक आउन सक्ने बताए । संगम स्वीट्सका लेखा अधिकृत अशोक आचार्यले मिठाइ बनाउँदा दुधको प्रयोग धेरै हुने भएकाले दुधमा मूल्य तलमाथी हुँदा मिठाइमा पनि तलमाथी हुन सक्ने बताए ।

 

‘दुधको मूल्य बढ्नु भनेको मिठाइ बनाउने सामाग्रीको मूल्य बढ्नु हो, यसले स्वत मिठाइको मूल्यमा असर गर्छ,’ आचार्यले चाणक्य पोष्टसँग भने ।

 

उनले  चाडपर्वकोबेला दैनिक ३/४ वटा बैंक तथा कर्पाेरेटबाट अडर आउने गरेको बताए । संगमले सामान्यतः ६० हजारको हाराहारीमा दैनिक मिठाइ विक्री गर्ने गरेको छ । चाडपर्वका समयमा भने दोब्बर विक्री हुने गरेको उनले जानकारी दिए ।

 

संगममा काजु बदाम लगायतका सामाग्रीबाट बन्ने मिठाइहरु बढि महंगा हुने गरे पनि त्यसको तुलनामा खुवाबाट बनेका मिठाइहरु सस्तो पर्न जाने उनले बताए ।काजु बदामबाट बनेका मिठाइहरु १५ दिनसम्म टिक्न सक्छ ।

 

रामेश्वरम स्वीट्सका किशोर नेपालले पनि दुधको मूल्य वृद्धिले मिठाइको मूल्यमा स्वत असर पर्ने गरेको बताएका छन् । उनका अनुसार दुधमा जस्तै मिठाइमा एकै चोटी धेरै मूल्य नबढे पनि थोरै भए पनि मूल्य बढ्न सक्ने हुन्छ ।

 

मिठाइका सामाग्री बनाउँदै गर्दा दुध अनिवार्य आवश्यक पर्ने भएकाले दुधको मूल्यले मिठाइमा असर पर्ने उनले बताए । उनले दुधको मूल्य १० रुपैयाँले बढे मिठाइमा ४/५ प्रतिशतले फरक पर्न सक्ने जानकारी दिए ।  ‘दुधको मूल्य बढे पछि मिठाइको मूल्यमा असर नपर्ने हुन्न, दुधमा १० रुपैयाँ बढे मिठाइमा पनि ४/५ रुपैयाँको फरक हुन सक्छ,’ नेपालले चाणक्य पोष्टसँग भने । मिठाइको व्यापार सामान्यतया भन्दा चाडबाडमा बढि हुने गरेको उनले जानकारी दिए । उनका अनुसार चाडपर्वमा दोब्बर अंकलेनै मिठाइ व्यापार हुने गरेको छ ।

 

रक्षा बन्धनमा भने औसत दिनहरुभन्दा ५/६ प्रतिशतले बढि विक्री हुने गरेको उनले बताए ।

 

 

यी हुन् सबैभन्दा महंगा मिठाई

 

कलाकान–प्रतिकेजी १३००
मतीचुरको लड्डु–प्रतिकेजी १२५०
काजु बर्फि–प्रतिकेजी १६००
स्पेशल गेद लड्डु– प्रतिकेजी १३५०
मिल्क केक–प्रतिकेजी १३००

पूँजी बजारको बारेमा अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन Read Previous

पूँजी बजारको बारेमा अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन

सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक पहिलो Read Next

सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक पहिलो