वाशिङटन । विद्युतीय कार निर्माता कम्पनी टेस्ला मालिक एलन मस्कले अचानक क्रिप्टोकरेन्सी ‘बिटक्वाइन’ सम्बन्धी आफ्नो धारणा बदल्दै सबैलाई आश्चर्यमा पारेका छन् ।
यसअघि उनले आफ्नो कम्पनीले १.५ अर्ब डलर बराबरको बिटक्वाइन खरिद गरेको घोषणा गरेका थिए जस लगत्तै बिटक्वाइनको मूल्य आकाशिन पुगेको थियो ।उनले लगानी गर्ने घोषणा गरेको केही सातामा यसको भाउ लगातार बढेर ६३ हजार डलरसम्म पुगेको थियो ।
यहाँसम्मकी उनले टेस्लाको गाडी खरिद गर्न समेत बिटक्वाइन प्रयोग गर्न सकिने बताएका थिए । तर सो घोषणा गरेको दुई महिना नबित्दै उनले आफ्ना तिनै वचनलाई खण्डन गरेका छन् ।
बिहीबार उनले बिटक्वाइन सम्बन्धी अलगै धारणा व्यक्त गरेपछि यसबारे सामाजिक संजालभर अधिक चर्चा शुरु भएको छ । बिटक्वाइनको कारोबारले अत्याधिक ऊर्जा खपत् गर्ने हुनाले वातावरणका लागि राम्रो नभएकामा चिन्ता जनाउँदै उनले टेस्ला खरिद गर्दा अब बिटक्वाइनको प्रयोग गर्न नपाइने बताएका हुन् । उनको यस भनाइसँगै बिटक्वाइनको भाउ अचानक १० प्रतिशतले घटेको छ ।
मस्कले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘क्रिप्टोकरेन्सी धेरै स्तरमा राम्रो व्यवसायिक योजना हो र यसको भविष्य उज्वल छ भन्ने हामी सबैको विश्वास छ । तर यस वापद् वातावरणले ठूलो मूल्य चुकाउनुपर्ने कुरा भने स्वीकार्य हुनेछैन ।’ बिटक्वाइनकै कारण पछिल्ला केही महिना ऊर्जा खपत्को मात्रा अकल्पनीय स्तरमा बढेको समेत उनले ठहर गरेका हुन् ।
टेस्ला कम्पनीले गत फेब्रुअरीमा आफूले १.५ अर्ब डलर बराबरको बिटक्वाइन खरिद गरेको घोषणा गरेको थियो । यो खबरसँगै डिजिटल करेन्सीको बजार अति उच्च बिन्दुमा पुग्यो ।
तर यसले वातावरणमैत्री प्रविधिको पक्षमा रहेका अर्बपति मस्कको छविलाई विवादित तुल्याएको थियो । टेस्लाका केही लगानीकर्ता सहित वातावरणवादी अभियन्ताहरुले बिटक्वाइनको ऊर्जा खपतबारे आलोचना गरेका हुन् ।यस्तोमा मस्कले आफू पनि उनीहरुको यस चिन्ताबारे गम्भीर रहेको बताउँदै कार्बन उत्सर्जन विरुद्धको पक्षमा उभिने बताए ।
मस्कका अनुसार उनीहरुले आफूसँग भएका बिटक्वाइन अब दिगो ऊर्जाका स्रोतहरुमा खर्च गर्नेछन् । उनको यस बदलिँदो धारणालाई केही लगानीकर्ताहरुले स्वागत गरेका छन् भने कतिले चाहिँ आश्चर्य जनाएका हुन् ।
हालसम्म बिटक्वाइन मार्फत टेस्लाको गाडी खरिद गरिएको छ छैन भन्नेबारे मस्कले कुनै खुलासा गरेका छैनन् र कम्पनीले पनि प्रतिक्रिया दिएको छैन । तर यति भनिरहँदा पनि क्रिप्टोकरेन्सी प्रतिको आफ्नो विश्वास भने कायम नै रहेको उनले मस्कले स्पष्ट पारेका हुन् र अब आफूहरुले बिटक्वाइन भन्दा कम ऊर्जा खर्च गर्ने क्रिप्टोकरेन्सीको खोजी गरिरहेको बताए ।
बिटक्वाइन र वातावरणीय चिन्ता
बिटक्वाइनमा माइनिङ तथा कारोबारका लागि उच्च क्षमतायुक्त कम्प्युटरहरुको प्रयोग हुन्छ र यसमा ठूलो परिमाणमा ऊर्जाको खपत हुन्छ । बिटक्वाइन माइनिङका लागि आवश्यक बिजुलीको ठूलो हिस्सा कोइला जस्ता अनविकरणीय स्रोतबाटै उत्पादन गरिएको हुन्छ ।
चिनियाँ माइनरहरुको बाहुल्यता रहनु तथा सस्तो जीवांश इन्धनबाट महंगो नविकरणीय ऊर्जाको प्रयोगमा लैजानका लागि उत्प्रेरणाको कमी हुनुका कारणले बिटक्वाइनलाई वातावरणविदहरुले चिन्ताको विषय मान्दै आएका छन् । विश्वमा हुने कूल बिटक्वाइन माइनिङ मध्ये ७५ प्रतिशत त चीनमै हुने गरेको छ ।
बिटक्वाइनको कार्वन उत्सर्जन चीनका सबैभन्दा ठूला १० सहरमध्ये झण्डै एउटा सहरजत्तिकै छ ।बिटक्वाइन मानइरहरुले प्रयोग गर्ने बिजुलीको अधिकांश हिस्सा कोइला लगायतका जीवांश इन्धनबाटै उत्पादन हुने गर्दछ ।
-एजेन्सीको सहयोगमा